सूचनाको शक्ति - The Power Of Information

        

हराउँदै टीकापुर पार्कको आकर्षण, संरक्षणकै अभाव

कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रियरूपमा चिनाएको छ । राजा महेन्द्रले स्वास्थ्यलाभ गर्नाका सार्थै यस क्षेत्रमा आएर राज्य सञ्चालन गरेको ठाउँलाई पार्कका रूपमा स्थापित गर्नमा स्व खड्गबहादुर सिंहको योगदान छ ।

वार्षिक एक लाखभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक अवलोकन तथा वनभोजका लागि टीकापुर पार्क आउने गरेका छन् । पार्क अवलोकन गर्न आउने पर्यटकबाट टीकापुर नगरपालिकाले वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ ।

यतिबेला टीकापुर पार्क संरक्षणको अभावमा खण्डहरजस्तै बनेको छ । पहिला एक सय ४० प्रजातिका गुलाफमात्रै पाइने पार्कमा अहिले गुलाफको फूल देख्न मुस्किल हुन थालेको छ । बगैँचा निकै उजाड देखिन्छ । बनेका संरचना पनि मर्मतसम्भार नहुँदा जीर्ण भएका छन् ।

‘केही वर्ष पहिले टीकापुर पार्कमा आउने मौका मिलेको थियो । त्यो बेलाको र अहिलेको पार्कको अवस्था निकै फेरिएको रहेछ ।’ धनगढीबाट पार्क घुम्न आएका बालकृष्ण ओझाले सरसफाइमा निकै लापरबाही देखिएको बताए । पार्कमा १३ कर्मचारी कार्यरत रहेका र त्यसको नेतृत्व गर्ने जिम्मा एक नायब सुब्बा स्तरको कर्मचारीलाई दिइएको छ ।

आज काम गर्ने जनशक्ति र हिजो पार्कमा काम गर्ने जनशक्ति उहीँ नै हो । हिजोको भन्दा यतिबेला पार्कको स्थिति निकै कुरूप छ । कर्मचारी परिचालन गर्ने पार्कको नेतृत्व जागरूक नहुँदा कर्मचारीले काम गर्न छाडेको बुझ्न कठिन छैन । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमका १० कर्मचारी करिब डेढ महिनादेखि पार्कमा कार्यरत छन् ।

पार्कमा पुगेका पर्यटक पहिलाको जस्तो खुसी भएर फर्कने स्थिति नरहेको पार्कमा भेटिएका टीकापुरका नन्दसिंह विकले बताए । पार्कको वनभोजस्थलको हालत पनि उस्तै छ । वनभोजस्थलमा भएको सार्वजनिक शौचालयको ताला कहिल्यै खुल्दैन । पार्क स्थापना भएदेखि सञ्चालनमा रहेको एउटै पानी ट्याङ्कीले त्यो वनभोजस्थलमा पुगेका पर्यटकको प्यास मेटाइरहेको छ । खानेपानीको व्यवस्थापन अझै हुन सकेको छैन ।

‘पार्क स्थापना भएदेखिको सबै गतिविधि मैले नजिकबाट हेरेको छु । निकै सङ्घर्षका बाबजुद टीकापुर पार्क स्थापना भएको हो ।’ स्थानीय समाजसेवी नरबहादुर रावलले बताए, विगत केही वर्षदेखि पार्कको विकासका लागि कोही जागरूक देखिएका छैनन् । पार्कको अस्तित्वले टीकापुरको अस्तित्व जोगाएको कुरा बिर्सनुहुँदैन ।’

पार्कभित्र दुई वटा विश्रामगृह छन् । वीरेन्द्र विश्रामगृह र महेन्द्र विश्रामगृह । वीरेन्द्र विश्रामगृहको मर्मत गरेको भए पनि महेन्द्र विश्रामगृहको अवस्था नाजुक छ । पार्कका इन्चार्ज अर्जुन कुँवरले पार्क कुरूप भएको कुरा स्वीकार गरेनन् ।

‘हामीले सक्ने जति गर्ने हो । त्यो गरिरहेका छौँ । तपाईँले भनेजस्तै पार्क खण्डहर भएको छैन,’ उनले भने, ‘पार्कमा जनशक्ति कम भएकै कारण काम हुन सकेको छैन । एक्लै चाहेर कति काम सम्भव होला र ?’ इन्चार्ज कुँवरले पार्कको विषयमा कर्मचारीलाई भन्दा जनप्रतिनिधिलाई प्रश्न गर्न पनि आग्रह गरे । निर्देशन दिएको काम आफूहरूले गर्ने भन्दै उनले कर्मचारीको काम गर्ने हो अन्य कुरा जनप्रतिनिधिलाई सोध्नु भने ।

नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले एक्लै नगरप्रमुखले चाहेर टीकापुर पार्कको सुन्दरता कायम गर्न नसकिने बताए । उनले पार्कको अस्तित्व जोगाउनका लागि सबै संयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिए । ‘हामीले त्यहाँ गएर काम गर्ने होइन । त्यहाँ कर्मचारी परिचालन गरेर काम गर्ने हो ।’ नगर प्रमुख थारूले भने, ‘तपाईँलाई थाहा छ, कर्मचारी परिचालन भएका छन् तर काम गर्दैनन् त म एक्लैले के गरूँ ?’

उनले कर्मचारीलाई पटक–पटक निर्देशन दिँदा पनि कामबाट सन्तुष्ट मिल्ने स्थिति नरहेको बताए । त्यसैगरी पार्कको गौरवको रूपमा प्रवेशद्वार निर्माण पनि गरिएको छ । प्रवेशद्वार निर्माण भएर हस्तान्तरण भएको पनि एक वर्षभन्दा बढी समय भइसकेको छ । त्यस प्रवेशद्वारको दुई भागमा टिकट काउन्टर बनाइएको छ । जुन काउन्टर नयाँ वर्षको दुई दिन सञ्चालनमा आएर पुनः बन्द भएको छ ।

नयाँ टिकट काउन्टरबाट टिकट काट्ने व्यवस्था मिलाउन सकिए राजस्व चुहावटमा कमी आउने भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । इन्चार्ज कुँवरले जनशक्ति नभएकै कारण नयाँ काउन्टर प्रयोगमा ल्याउन नसकिएको बताए । उनले जनशक्तिको व्यवस्थापन भए नयाँ काउन्टर सञ्चालनमा ल्याउन समस्या नभएको तर अहिले नयाँ काउन्टरबाट टिकट वितरण गर्दा पार्क घुम्न आउने पर्यटक अलमलमा पर्ने बताए ।

स्थानीयस्तरमा पनि पार्कको विषयमा विभिन्न प्रश्न उठ्न थालेका छन् । अहिलेको नगरपालिकाको नयाँ नेतृत्वले स्थानीय तहको निर्वाचनमा टीकापुर पार्कलाई व्यवस्थित गर्दै निजी क्षेत्रलाई ठेक्कामा दिने कुरा पनि उठेको थियो । अहिले उक्त पार्कका लागि जनप्रतिनिधि पनि सम्पर्कविहीनजस्तै बनेको स्थानीयवासीको गुनासो थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १५:४३