सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभाको सिप्रुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।
उनले भने, ‘सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।’
माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको थियो ।
‘हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ,’ प्रवक्ता सिटौलाले भने । हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
हेलिकोप्टरका पाइलट सुरेन्द्र पौडेल, को–पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं ल्याइँदैछ ।
सत्यपाटी संवाददाता । सङ्खुवासभा