सूचनाको शक्ति - The Power Of Information

        

आज राति विरल छायाँजनित चन्द्रग्रहण लाग्ने

वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७ बजे मध्य हुन्छ । राति १ः१६ बजे ग्रहण सकिनेछ ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उनले बताए ।

मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्नुहुने महानुभावले चन्द्रमाको तस्बिर तथा भिडियो खिचेर परापूर्वकालमा ज्योतिषशास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी अध्ययन गर्न सक्ने सोसाइटीले जनाएको छ । यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ ।

के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन छायाँ र विरल छायाँ । चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ ।

विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ । यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्व हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल विरल छायाँजनित ग्रहण लाग्नु भन्दाअघिको अवस्था भएको बताउँछन् । विरल छायाँजनित भनेको ग्रहण नै लागेको अवस्था नभएकाले शास्त्रीय रुपमा यसको दोष नलाग्ने जानकारी पनि उनले दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १४:२३