सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरण

केपी ओलीसँग फोन संवादपछि एमाले सचिव ‘सम्पर्कविहिन’

पक्राउ पुर्जी जारी भएको २४ घण्टा बितिसक्दा पनि टोपबहादुर रायमाझी सम्पर्कमा छैनन् ।

नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ‘सम्पर्कविहिन’ भएका छन् । नक्कली भुटानी शरणार्थी खडा गरि अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोमा बुधवार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले रायमाझीलाई खोजी रहेको छ ।

बुधवार साँझसम्म सम्पर्कमा रहेका रायमाझी राति ९ बजेपछि भने सम्पर्कविहिन भएका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी आफैं काठमाडौं आएर प्रहरी कहाँ आउने खबर सार्वजनिक भएको थियो । प्रहीले पनि रायमाझीसँग सोही अपेक्षा राखेको थियो ।

तर पुर्जी जारी भएको २४ घण्टा बितिसक्दा पनि उनी सम्पर्कमा छैनन् । ‘अहिलेसम्म उहाँ सम्पर्कमा हुनुहुन्न,’ काठमाडौ उपत्यका प्रहरी कायालयका एआइजी श्याम ज्ञवालीले भने । बुधवार उनी अर्घाखाँची थिए । उनीसँगै कार्यक्रममा समामुख घिमिरे पनि सहभागी थिए ।

साँझ सभामुखसँगै विमानबाट काठमाडौं फर्किने तय थियो, तर भैरहवा पुगेपछि रायमाझीले टिकट क्यान्सिल गरे र उतै बसे । त्यतिखेरसम्म उनी पत्रकार, नेता, प्रहरीसँग पनि सम्पर्कमा थिए । बुधबार नै पक्राउ पुर्जी जारी गरेका उनका छोरा सन्दिपलाई भने साँझ पक्राउ गरेपछि उनी सम्पर्कविहिन भएका हुन् ।

उनको मोबाइलको अन्तिम लोकेसन भैरहवा देखाएको प्रहरीले जनाएको छ । पूर्वमन्त्रीको हैसियतले पाएको पिएसओ काठमाडौंमै छोडेर एमाले सचिव रायमाझी जिल्ला गएका थिए । पक्राउ पूर्जी जारी भएपछि पार्टी अध्यक्ष केपी ओलीसँग फोन संवाद भएको स्वयम् ओलीले बिहिवार बताएका थिए ।

त्यस्तै, प्रहरी प्रमुखसँग पनि रायमाझीले पक्राउको बारेमा कुराकानी गरेको ओलीले बताएका थिए । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । यस प्रकरणमा बहालवाला सचिवसहित आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १२:४२