सूचनाको शक्ति - The Power Of Information

        

शीतलताको पर्याय दही, गर्मीमा निकै फाइदा

गर्मी मौसम सुरु भइसकेको छ । गर्मी सुरु भएसँग शरीरमा अत्याधिक पसिना आउने भएकोले शरीरमा पानीको मात्र पनि कम हुने गर्दछ । जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र ? गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ ।

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो । दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ । यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्याइरहेको हुन्छ । दूध जमाएर बनाएको र त्यसबाट नौनी, घिउ आदि बनाइने बाक्लो खाद्य पदार्थलाई दही भनिन्छ ।

गर्मी महिनामा धेरै खपत हुने दही हिन्दु परम्परा अनुसार साइत गर्दा समेत प्रयोग गरिन्छ । शुभ कार्यको थालनी गर्दा दही खाएर गर्नु शुभ मनिन्छ । दही प्रायजसो सबैको भान्सामा प्रयोग भएको पाइन्छ । विवाह भोज भतेरमा पनि खाना खाइसकेपछि मुख मिठो बनाउन दहि खाने चलन छ ।

दहीले मनिसको शरिरमा पाचन प्रक्रियालाई नियमित राख्न मद्धत गर्दछ । गर्मीमा दहीको सेवनले शरीरको तापमान सन्तुलित राख्छ । दहीमा रहेको क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले शरीरको केहि आवश्यक्ता पुरा गर्छ । दहीका भिविन्न प्रकारका हुन्छन् । त्यसमध्य जुजु धौँ भक्तपुरमा प्रसिद्ध छ ।

नेपाली समाजमा प्रचलित दहीका प्रकार

एकराते – एक रात मात्र बितेको वा अघिल्लो दिन मात्र जमाइएको वा एक रातको दहीलाई एकराते दही भनिन्छ ।

चोक्रा – राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने दहीको ढिकालाई चोक्रा भनिन्छ ।

जुजुधौ – बेसरी तताएका दूधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको भादगाउँले दहीलाई जुजुधौ भनिन्छ ।

लहरे दही – जमेको बाक्लो दहीलाई लहरे दही भनिन्छ ।

यस्तो छ दही खानुको फाइदा

१. पेटलाई सितलता

दहीलाई लस्सी बनाएर सेवन गर्दा पेटको गर्मी शान्त हुन्छ । पेटको कतिपय रोगमा दहीको सेवन लाभदायक मानिन्छ । अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले पेटको रोग लाग्न दिदैन ।

२. हृदय रोगमा बरदान

दहीमा हृदय रोग, उच्च रक्तचाप रोक्ने गजबको क्षमता हुन्छ । यसले अनियन्त्रित कोलेस्ट्रोल बढाउनमा रोक्छ । साथै मुटुको धड्कनलाई सहि राख्छ । मुटुको समस्या भएकाले दहीको सेवन गर्नु लाभदायक मानिन्छ ।

३. हड्डीको विकासमा सहयोगी

दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यसले हड्डीको विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सहि ढंगले काम गराउन सहयोग गर्छ ।

४. तौल नियन्त्रण राख्न

अहिले मोटोपन घटाउने चिन्ताले धेरैलाई ग्रस्त बनाएको छ । यस्तो समस्या भोगिरहेकाहरुका लागि दहीको सेवन एकदमै लाभदायक हुन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ०७:५१