सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कविता : माटोको धमनी

आजकल म सत्ताको जटिल
छायाँमुनी बाँचिरहेको छु
र हेरिरहेछु
म माथि बर्सने बितन्डाहरु

म जे पनि हुनसक्छु
फगत अस्तित्वको भूमि
अथवा यहि भूमिमाथिको प्राणी

अहिले म भन्दैछु कि
म देश हुँ कि फगत माटो
अथवा सात समुद्रपारि भनिने
खुनी साम्राज्यको आकाशबाट उँड्ने
गिद्दलेझैँ आँखा गाडिरहेको स्वर्णभूमि
मेरा वरिपरी किन उड्दैछ
प्रसान्त द्विपको
कुटिल मनोरथी आततायी यान

किन आउँदैछ
मेरो माटोमाथि दुःस्वप्नको
बासी सास
अथवा अकालवधमा परेका
लासहरुको सिनोको गन्ध
किन बग्दैछ मेरा वरिपरी ?

म आफ्नै शिरमाथि हेरिरहेछु
ममाथि सत्ता बस्छ कि
काला कागहरूको बथान ?

आजकल म
सत्ताको मुकुन्डोभित्रको
अनेक रहस्यहरु खोज्दैछु
हेर्छु आफ्नै वक्ष वरिपरी
गम्छु आफैँभित्र
छाम्छु, मानिसहरुका धमनी र सुस्त स्पन्दन

आजकल मेरो
मस्तिस्कभरि विचारको बेगले भन्छ
म नागरिकहरुको आश्रय हुँ कि
सत्ताका मतियारहरुले लुछ्ने माम्सपेसी
मेरा अङ्गमा किन सल्बलाउँदै छन्
भियतनामको चिहानबाट भागेका
सेता जुम्राहरु ?

आजकल म
आततायी समयको
भिषण आतंकबाट गुज्रिरहेको छु
आफ्नो अमित गौरवको रक्षामा
खोजिरहेछु भूमिपुत्रहरुको मार्चपास
र सुनिरहेछु सपुतहरुको पार्श्वध्वनि
मेरो मथिंगलमा घुमिरहेछ
चेतनाको मौलिक तरंग
र सोचिरहेछु,
म माथि नागरिकहरुको सत्ता बस्छ कि
कठपुत्लाहरुको मृदंग नाच ?

अन्तिम युद्धको मेरो उद्घोष
मै हुँ मेरो वक्षमाथिको शैलाधिपति
म च्यात्छु तमाम असमान संधिसर्पंनका
जाली हस्ताक्षरहरु
म आफैँ लेख्छु
मेरो पौरखले भिजेको माटोको कथा

आजकल म सत्ताको
कुरुप छायाँमा देखिरहेछु
स्खलित विचारका शिखण्डीहरुको
ढोगी दस्तावेजका नक्कली पानाहरु
आजकल म,
तमाम सत्ताहरुको वर्खिलाप एउटा
नयाँ जग खानिरहेछु ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ०७:१२