सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस पदाधिकारी बैठकमा चर्काचर्की

सभापति देउवाको कार्यशैलीप्रति कांग्रेसमा असन्तुष्टि

नेपाली कांग्रेसको इतर समूहलाई तीन मन्त्रालयको आश्वासन दिए पनि देउवाले कार्यान्वयन नगरेकाले इतरपक्ष असन्तुष्ट बनेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा मन्त्री चयन गर्दा एकलौटी निर्णय गरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनबीच भएको भागबण्डा अनुसार कांग्रेसले आठ मन्त्रालय पाएको छ । तर, सभापति देउवाले आफू निकटका ६ जनालाई मन्त्री बनाएपछि पार्टीमा असन्तुष्टि पोखिएको हो ।

बिहीबार बसेको पदाधिकारी बैठकमा नेताहरुले सभापति देउवाप्रति असन्तुष्टि पोखेका हुन् । बैठकमा सभापति देउवाले छलफल नै नगरी बुधबार तीन जना मन्त्रीको नाम सिफारिस गरेको भन्दै नेताहरुले असन्तुष्टि पोखेका थिए । सभापति देउवाको कार्यशैलीप्रति नेताहरुले असन्तुष्टि पोखेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।

उनका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार लगायत नेताहरुले देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । बैठकमा सहमहामन्त्री परियारले मन्त्री पठाउँदा समावेशी नभएको भन्दै प्रश्न उठाएका थिए । जवाफमा सभापति देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको बताएका थिए ।

ती पदाधिकारीका अनुसार देउवाले भने, ‘अहिले गठबन्धनको सरकार हुँदा सबैलाई समेट्न सकिएन । अब कांग्रेसको एकल सरकार बनेपछि सबैलाई समेटौंला ।’ गठबन्धनमा आलोपालोको सहमति भएकाले अर्को पटकमा ख्याल गरेर अघि बढ्ने देउवाले प्रष्टाएको पनि उनले बताए । सोक्रममा सभापति देउवा र सहमहामन्त्री परियारबीच चर्काचर्की भएको थियो ।

सुरुदेखि नै संस्थापनइतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राख्दै आएको थियो । सभापति देउवाले बुधबार पार्टीबाट तीन मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए । कांग्रेसबाट सरकारमा गएका आठ मन्त्रीमा धनराज गुरुङ र डिगबहादुर लिम्बूबाहेक सबै देउवा निकटका हुन् ।

इतर समूहलाई तीन मन्त्रालयको आश्वासन दिए पनि देउवाले कार्यान्वयन नगरेकाले इतरपक्ष असन्तुष्ट बनेको हो । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमा एनपी साउद, उद्योगमा रमेश रिजाल, शहरी विकासमन्त्री सीता गुरुङ र डिगबहादुर लिम्बू, युवा तथा खेलकूदमन्त्री देउवा निकटका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ०६:५२