सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।

आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ ।

बदली र वर्षाको सम्भावना रहे पनि हिजोअस्तिको तुलनामा कम रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । ‘हिजोअस्तिको तुलनामा आजबाट वर्षा र बदलीको सम्भावना केही कम रहेको छ,’ शाक्य भन्छिन्, ‘वर्षाको मात्रा र अवधि दुवै आजबाट कम हुने दखिन्छ ।’

यद्यपि, प्रि–मनसुनको सिजन भएकाले वर्षा नहुने सम्भावना भने नरहेको उनी स्पष्ट पार्छिन् । आज काठमाडौंमा विगत केही दिनको तुलनामा मौसम सफा हुने मौसमविद् शाक्यको भनाइ छ । बिहान हुस्सु देखिए पनि घाम लागेसँगै हट्ने उनले जानकारी दिइन् ।

दिउँसो काठमाडौंको आकासमा केही बादल भने देखिने बताउँदै उनी भन्छिन्, ‘काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना न्यून छ ।’ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ०६:२५