भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षदेखि आफ्नो सवारी लाइसेन्स ‘पेन्डिङ’मा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी : सजेसन्स फर पोलेसी एन्ड बजेट २०८०–०८१’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले आफ्नो लाइसेन्स प्रक्रियाको क्रममा रहेको बताएका हुन् । यातायात क्षेत्रमा धेरै विसंगति रहेको भन्दै उनले ढिलासुस्ती पनि एक कारण बताएको बताए । यसलाई सुधार गर्न आफू लागिपर्ने उनले उल्लेख गरे ।
‘यातायात क्षेत्रमा केही विसंगति, विकृति, समस्य र जटिलताहरू छन् । जस्तो कि लाइसेन्सकै कुरा छन् । ६ महिना–८ महिनादेखि लाइसेन्स नपाएका पनि छन् । अहिलेसम्म मेरै लाइसेन्स आएको छैन, एक वर्ष भइसकेको छ,’ उनले भने, ‘मन्त्रीज्यूको बनाइदिनुपर्छ कि भन्दै हुनुहुन्थ्यो । अहिले मेरो बनाउन परेन । जुन दिन मेरो लाइन हो, त्यही दिन लिउँला ।’ लाइसेन्सका लागि पर्खाइमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्नेतर्फ आफ्नो ध्यान रहेको पनि उनले बताए ।
सत्यपाटी संवाददाता । काठमाडौं