सूचनाको शक्ति - The Power Of Information

        

भुटानी शरणार्थी ठगी प्रकरण : महाकांल गाउँपालिकाका अध्यक्ष पनि छानबिनमा

गैरभुटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणमा ललितपुरको महाकांल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसी समेत छानबिनमा तानिएका छन् । पीडितहरुले उनीविरुद्ध समेत जाहेरी दिएका छन् ।

केसी पूर्वसहसचिव बालकृष्ण पन्थी अध्यक्षताको भुटानी समस्या समाधान कार्यदलको सदस्य थिए । सोही बेला उनले सो ठगीमा सघाएको पीडितहरुको दाबी छ । सोही प्रतिवेदन देखाएर करिब एक अर्ब रुपैयाँ असुल भएको थियो ।

हाल नेपाली कांग्रेसबाट गाउँपालिकामा निर्वाचित भएका केसी त्यतीबेला माओवादीमा सक्रिय थिए । सोही आधारमा उनी कार्यदलको सदस्य बनेका थिए । हाल पक्राउ परेका सानु भन्डारीका उनी साथी हुन् । जसअनुसार गिरोहले नै उनलाई सदस्य बनाएको देखिएको प्रहरी स्रोत बताउँछ ।

तर, केसीले भने ठगीमा आफ्नो कुनै संलग्नता नभएको बताउँछन् । आफुहरुले बुझाएको प्रतिवेदनमा कुनै पनि गैरशरणार्थीको नाम नभएको भन्दै पछि कीर्ते भएकोमा सम्बन्धित व्यक्तिहरुको दोष भएको उनको दाबी छ । प्रहरीले उनलाई पनि सोधपुछका लागि बोलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १५:३८