सूचनाको शक्ति - The Power Of Information

        

हत्या अभियोगमा साउदीको जेल पुगेका पाँच नेपाली निर्दोष

साउदीमा हत्या अभियोग लागेका पाँच नेपाली निर्दोष साबित भएर जेलमुक्त हुँदै नेपाल फर्किएका छन् । रोजगारीमा साउदी पुगेका पाँच जना नेपालीहरू मिलेर एक जना भारतीय नागरिकको हत्या गरेको अभियोगमा जेल परेका थिए ।

३ वर्ष ९ महिना जेलजीबन बिताएपछि साउदी अदालतले उनीहरुलाई निर्दोष साबित गरी रिहा गरेको हो । जेलबाट रिहा भए पनि नेपाल फर्किन सहज भएन, रिहा भएको ८ महिनापछि मात्र रियादस्थित नेपाली दूतावासले सहजीकरण गरी सबै जना स्वदेश फर्किन सफल भएको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिएका छन् ।

जेलमुक्त भएर नेपाल फर्किनेमा भक्तपुर चाँगुनारायण नगरपालीका वडा नं. ३ का कृष्ण बहादुर गाँसी, महोत्तरी लोहारपट्टी नगरपालिका वडा नं.५ का ईन्द्रजीत मण्डल, इलामको इलाम नगरपालिका वडा नं. ३ का धनबहादुर तामाङ्ग, धनुषा कमला नगरपालिका वडा नं. ५ का राम प्रसाद ठाकुर र सिरहाको सिरहा नगरपालिका वडा नं. १२ का वासुदेव ठाकुर रहेका छन् ।

जेलबाट रिहा भएपछि दमामस्थित नेपाली दूतावासको सेन्टरमा सबै जना बसे । उक्त बसाइको क्रममा दूतावासका कर्मचारीमार्फत उनीहरूले जानकारी पाए कि साउदीको जेलमा परेको व्यक्ति निर्दोष साबित भएमा साउदीको सरकारले त्यस्तो निर्दोष व्यक्तिलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । त्यहीँ आश्वासनमा परी सबै जना ८ महिना सेन्टरमा बसेर एक्जिट भिसा लागेपछि क्षतिपूर्ति बिना नै स्वदेश फर्किएको अभियन्ता रायले बताए ।

उनीहरुमध्ये वासुदेव ठाकुरको सो कम्पनीमा काम गरेको तलब दुई हजार साउदी रियाल साउदीको बैङ्कमा रहेको, राम प्रसाद ठाकुरको तलब १५ सय साउदी रियाल साउदीको बैङ्कमा रहेका र सो कम्पनीबाट पाउनुपर्ने अन्य सेवा सुविधा र २ महिनाको काम गरेको तलब समेत बाँकी रहेको पीडित बताएका छन् । उनीहरु नेपाल फर्किसकेको अवस्थामा कार्यरत कम्पनीबाट पाउनुपर्ने तलब सुविधा लगायत सो गन्तव्य मुलुकबाट निर्दोष भएर पनि जेल परेको क्षतिपूर्ति पाउन आशमा अहिले पनि बसेका छन् ।

‘पक्राउ परेका बेलादेखि म उनीहरूको उद्धारको लागि निरन्तर पहल गर्दै आएको छु,’ अभियन्ता रायले भने, वैदेशिक रोजगार बोर्डमा उनीहरूको लागि पहिलो पटक निवेदन दिएको थिए, सम्बन्धित निकाय र दूतावासको ध्यानाकर्षण गराएको थिए ।’ अहिले पनि उनीहरुलाई सरोकारवाला निकायमा लगेर क्षतिपूर्तिको लागि पहल गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १३:२४