सूचनाको शक्ति - The Power Of Information

        

तीन महिनादेखि अखाद्य चामलसहित तीन कन्टेनर भन्सारमा अलपत्र

विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगन्ज भन्सार कार्यालयमै रोकिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो ।

जमुनाहा नाकाबाट भित्र्याउन लागिएको ५४ हजार किलो चामल गुणस्तरहीन भएको पुष्टि भएपछि चामल बोकेका तीन वटा कन्टेनरलाई गत तीन महिनादेखि भन्सार कार्यालयमै रोकेर राखिएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इटालीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगन्जसम्म ल्याइएको हो ।

चामल बोकेर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर तीन महिनादेखि भन्सार कार्यालयमा अलपत्र परेका छन् । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामललाई फिर्ता पठाउने वा नष्ट गर्ने दुईवटा विकल्प रहेकाले त्यसबारे निर्णय हुन नसकेको उनले बताए ।

सो निर्णयका लागि अखाद्य चामल ल्याउनेले नै निवेदन दिनुपर्नेमा हालसम्म निवेदन नआएकाले निर्णय हुन नसकेको हो । उनले निवेदन दिन अझै केही समय बाँकी रहेकाले आफूहरूले कुरिरहेको र समयसीमाभित्र निवेदन नआए भन्सार कार्यालयले नियमअनुसार गर्ने बताए । कार्यालयका अनुसार गत माघ १५ गते कन्टेनर नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमुना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्ज पठाइएको थियो ।

प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि ती कन्टेनरलाई सोही समयदेखि नाकामै रोकेर राखिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शर्माले भने, ‘गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेर राखिएको छ ।’ उक्त चामल तत्काल नष्ट गर्न विभिन्न सङ्घसंस्थाले माग समेत गरेका छन् ।

विभिन्न सङ्घसंस्थाले खाद्यान्नजस्तो संवेदनशील सामानमा लापरबाही गर्नेलाई कारबाहीको माग गर्दै राहतका नाममा मानव जीवन नै जोखिममा पर्ने कार्य हुन नदिन सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने जनाउँदै अखाद्य सामग्री तत्काल नष्ट गर्न माग गरेका छन् । यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको ५१४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १०:००