सूचनाको शक्ति - The Power Of Information

        

एउटै नाकाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापा लगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।

गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार १०३ मेट्रिक टन बन्दाकोभी भारत निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए ।

काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार ९९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको छ ।

सोही अवधिमा काँकडभिट्टा नाका भएर रु नौ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०९:३३