धादिङको धार्के सडक खण्डमा आज पनि एकतर्फी गाडी चलिरहेका छन् । एकतर्फी मात्रै गाडी चलिरहेकाले यो खण्डमा गाडीको चाप छ । अहिले पनि एक/डेढ सयको सङ्ख्यामा गाडीको लाइन रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गासँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडक हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन् । यही कारण सडक एकतर्फी हुँदा चाप धेरै हुन्छ ।
गएको सोमवार दिउँसो ४ बजे धुनिबेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि सडक अस्तव्यस्त भएको छ ।
सडक भासिएपछि गाडीको आवागमन ठप्प भएको थियो । अस्ति मङ्गलवार बिहान १० बजेपछि सडक मर्मत गरेर एकतर्फी खुलाइए पनि हिजो दिउँसो १२ बजेतिर फेरि अर्को भ्वाङ परेपछि दुईतर्फी नै गाडी राेकिएका थिए ।
हिजो दिउँसो २ बजेदेखि भने एकतर्फी सडक खुलेको छ । दुईतर्फी सडक खुलाउन गएको सोमवारदेखि नै नेपाली सेना र सडक विभागका कर्मचारी तथा इञ्जिनियरहरु खटिएका छन् ।
सडक दुईतर्फी नै खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । एकतर्फी सडक खुले पनि जोखिम भने टरेको छैन ।
सत्यपाटी संवाददाता । काठमाडौँ