सूचनाको शक्ति - The Power Of Information

        

भुटानी शरणार्थी ठगी प्रकरण

एमाले सचिव टोपबहादुरलाई पक्रन प्रहरी ‘हाई अलर्ट’, छोरा बुटवलबाट पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बुधवार अदालतबाट पक्राउ अनुमती आउँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । उनी कार्यक्रमको विशेष अतिथि थिए ।

कार्यक्रम सकेर उनी काठमाडौंतिर लागेका छन् । प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको प्रतिक्षामा ‘हाई अलर्ट’मा रहेको छ ।

काठमाडौं आएपछि उनलाई सम्भव भएसम्म आज नै पक्राउ गरिने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । उनले भने, ‘उहाँलाई आज नै पक्राउ गर्ने तयारी छ ।’ भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको नाम लिएका छन् ।

बयानमा उनले भनेका छन्, ‘हामीलाई टोपबहादुर रायामझीको सहयोग छ ।’ सो बयानका आधारमा अदालतले रायमाझीका बाबुछोराबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं आज ल्याउँदै गरेको उपत्यका प्रहरी कार्यालयका एआइजी श्यामलाल ज्ञवालीले बताए ।

शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या आठ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन् । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०६:३३