सूचनाको शक्ति - The Power Of Information

        

संरक्षणको जिम्मा कसको ?

प्रयोगविहीन नेपालगन्ज रङ्गशाला, करोडौँका संरचना अलपत्र

सीमित मात्र खेलकुद गतिविधि हुँदा अधिकांश संरचना कोरोना महामारी फैलिएसँगै थलिएका छन् ।

नेपालगन्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपैयाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगन्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् ।

सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचना कोरोना महामारी फैलिएसँगै थलिएका छन् । बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण भएका थिए । नेपालगन्जमा अत्याधुनिक र सुविधा सम्पन्न फुटबल मैदान, पौडी पोखरी, कभर्ड हल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्रयाक र जुडो हल निर्माण भएका छन् ।

बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् । रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक करोडौँको लगानीमा पौडी पोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माण छन् । तर, यी सबै पूर्वाधार अहिले प्रयोग हुन सकेका छैनन् । करोडौँ खर्चेर बनाइएका संरचना यतिबेला संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

प्याराफिटसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल प्रतियोगिता मात्रै सञ्चालन भएको छ । नियमित अभ्यास र प्रतियोगिता नभएपछि बर्मुडा घाँस सुकेसँगै मैदान समेत अस्तव्यस्त भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालामा मैदान निर्माणका लागि शुल्कको व्यवस्था गरिएको बताए ।

प्रमुख चन्दले भने, ‘रङ्गशालाभित्र एउटा खेल आयोजना गर्न १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ, राष्ट्रिय खेलकुदपछि यहाँ एकाधमात्रै प्रतियोगिता भएका छन् ।’ स्थानीय र प्रदेशस्तरीय प्रतियोगिताहरू शुल्क तिर्नुपर्ने भए पनि रङ्गशालाभित्र सञ्चालन हुन नसकेका हुन् । जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता बाँकेका खेलाडी तथा क्लबले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि समेत मैदान प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले रङ्गशालाभित्र प्रतियोगिता सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गरेका छन् । रङ्गशाला व्यवस्थापनका लागि आवश्यक भएकाले निश्चित शुल्क तोकिएको भन्दै उनले शुल्कबारे पुनर्विचार गर्न छलफल गरिने बताए । सदस्य सचिव घिसिङले भने, ‘रङ्गशाला खेलकुद गतिविधि सञ्चालनका लागि हो, म प्रदेश र स्थानीय स्तरका खेलकुदहरू यहाँभित्र आयोजना गर्न आमन्त्रण गर्दछु ।’

रङ्गशालालाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसङ्घसँग सम्बद्धहरुले माग गरेका छन् । परिषद्का सदस्य सचिव घिसिङले रङ्गशालामा प्रस्तावित भाडादरका विषयमा पुनःविचारका लागि प्रस्ताव राख्ने पनि बताएका थिए । नेपालगन्ज रङ्गशालामा खेल अभ्यासका लागि मात्रै पनि तोकिएको भाडादर नै चर्को भएको भन्दै खेल सम्बद्ध खेलाडीहरुको गुनासो छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:४०