सूचनाको शक्ति - The Power Of Information

        

ट्र्याक्टर छाडेर बारी जोत्न गोरुकै प्रयोग

परम्परागत कृषिमा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ तर सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्न थालेका छन् ।

भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्र्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।

बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार सात सयजना किसानलाई गोरु अनुदान दिइएको छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगरप्रमुख बस्नेतले जानकारी दिए । उनले एउटा किसान बराबर रु. १० हजारको दरले सात लाख अनुदानस्वरूप दिइसकेको बताए ।

भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान गाह्रो हुने मात्र होइन खेतबारी गहिरोसँग ट्र्याक्टरले नखन्ने र मर्मत गरिरहनुपर्ने, तेल प्रयोगका कारण महँगो हुने जस्ता समस्याका कारण आफूहरूले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउँछन् ।

केही समय ट्र्याक्टरको प्रयोग गरेको र ट्र्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमै समस्या आएको उनको भनाइ छ । राम्चेका किसान अटलबहादुर तामाङले भने ट्र्याक्टर प्रयोग गर्दा उब्जनी कम भएको अनुभव सुनाउँछन् । गोरुले जोते जस्तै ट्र्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी कम भएको उनको अनुभव छ । ट्र्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकाले फेरि गोरु प्रयोग गर्न थालेको उनी बताउँछन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:२२