दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये तीन जनाको शव फेला परेको छ । हिजो (मंगलबार) दिउँसो आएको हिमपहिरोमा परि बेपत्ता भएका पाँत जनामध्ये तीन जना दुई महिला र एक पुरुषको शव आज हिउँभन्दा बाहिर मृतावस्थामा भेटिएको हो ।
मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कबिहीन थिए । दार्चुलाको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए ।
शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले बताए । शव भेटिए पनि पहिचान भने खुलि नसकेको उनले भने । मंङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो ।
सत्यपाटी संवाददाता । दार्चुला