सूचनाको शक्ति - The Power Of Information

        

बदलिँदो मौसममा खानैपर्ने खानेकुरा

बदलिँदो मौसममा ब्याक्टेरियाका कारण हुने रोगहरू सामान्य बन्दै गएका छन्, यस्तो अवस्थामा सावधानी अपनाउनु भएन भने बिरामी पनि हुनसक्छ । यो मौसममा ब्याक्टेरिया र भाइरल इन्फेक्सनको जोखिम निकै बढ्छ ।

यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई रोग लाग्ने खतरा बढी हुन्छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । तर यी रोगहरूबाट बच्न आज हामी तपाईँहरूलाई केही यस्ता खानेकुराहरू बताउँदछौँ जसले तपाईँको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बदलिँदो मौसममा तपाईँलाई स्वस्थ राख्छ ।

लसुन र अदुवाको सेवन

यस सिजनमा लसुन र अदुवाको दैनिक प्रयोग गर्दा रुघाखोकी र अन्य रोग लाग्ने सम्भावना कम हुन्छ । अदुवा धेरै स्वादिष्ट परिकार र चिया मा प्रयोग गर्न सकिन्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुण हुन्छ जुन तपाईँको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । अदुवा र लसुनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि काम गर्छ ।

हरियो सागसब्जी

यस मौसममा हरियो सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हरियो सागसब्जीमा एन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ । जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई रोगसँग लड्न मद्दत गर्छ । प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न ब्रोकाउली र पालकको नियमित सेवन गर्न सकिन्छ । यस बाहेक यी तरकारीहरूबाट राम्रो फाइदा लिनको लागि काँचो वा कमसेकम पकाएर खाँदा फाइदा हुन्छ ।

बेसार

बेसारलाई भान्सामा मसलाको रूपमा प्रयोग गरिन्छ । त्यसैले हरेक घरमा सजिलै उपलब्ध हुन्छ । बेसारमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई धेरै औषधिमा पनि प्रयोग गरिन्छ । बेसारमा पाइने कर्क्युमिन कम्पाउन्डका कारण यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ ।

बदाम

यसबाहेक बदाम पनि प्रयोग गर्न सक्नुहुन्छ । बदाममा भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । साथै, यसमा म्याग्नेसियम र फाइबर हुन्छ । यो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । चिसो, फ्लू आदिबाट बच्न पनि यसको प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १२:०४