सूचनाको शक्ति - The Power Of Information

        

पाथीभरामा दर्शनार्थीको भीड, एकै दिन चार हजार भक्तजन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । हिजो मंगलबार मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता मंगलबार सबैभन्दा धेरै चार हजार १३१ जना भक्तजन पाथीभराको दर्शनका लागि आएका हुन् । वैशाख १५ मा अन्धशुक्र सकिएसँगै तीर्थयात्रीको आगमन बढेको क्षेत्र विकास समितिले जनाएको छ ।

त्यस अघिसमेत दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आइरहेका थिए । यो सिजनमा सबैभन्दा धेरै गत चैत ४ गते पाँच हजार ७०८ जना भक्तजन पाथीभरा पुगेका थिए । अन्धशुक्र लागेसँगै तीर्थयात्रीको आगमन घटेको थियो तर शुक्रबार यता तीर्थयात्रीको आगमन बढेसँगै मन्दिरमा भिडभाड हुन थालेको छ भने पाथीभरा क्षेत्र र सदरमुकाम फुङ्लिङका होटल खचाखच छन् ।

पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, माथिल्लो फेदी, सुकेटारसहितका होटल भरिभराउ भएको यहाँका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । पछिल्लो केही दिनयता साँझ बिहान सामान्य वर्षा भएर चिसो बढे पनि तीर्थयात्रीको आगमन भने बढ्दो छ ।

भक्तजनको घुइँचो लागेसँगै पूजाआजालाई सहज र छिटो बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई पूर्णरूपमा खटाइएको छ । पाथीभरा मन्दिरमा स्वदेशी तथा विदेशीसमेत गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । बडादसैँमा सबैभन्दा धेरै तीर्थयात्रीको भीड हुन्छ । त्यसपछि भने फागुनदेखि वैशाखसम्म धेरै तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ११:१७