सूचनाको शक्ति - The Power Of Information

        

बाँसका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात

भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी राष्ट्र चीनतर्फ निर्यात हुन थालेको छ । गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैद बन्दीले उत्पादन गरेका सात ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो ।

भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १०० थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार ४ लाख ४० हजार मुल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ निर्यात भएको हो ।

‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरुले मन पराएपछि यहाँ उत्पादन हुने मुढाहरु निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ भीमफेदी कारागारका प्रमुख पौडेलले भने ।

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीवाट बढी माग आएको ब्यापारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ११:१०