सूचनाको शक्ति - The Power Of Information

        

ट्वाइलेट बिग्रिएपछि विमानको आकस्मिक अवतरण !

अस्ट्रियाको भियनाबाट न्यूयोर्कको उडानमा एउटा विमान दुई घण्टापछि फर्किनुपरेको छ । अस्ट्रियन एयरलाइन्सको यो विमानमा आठमध्ये पाँच वटा ट्वाइलेट बिग्रिएपछि यस्तो गर्नुपरेको हो । अघिल्लो सोमबारको बोइङ ७७७ उडानमा करिब ३०० जना सवार थिए, जुन आठ घण्टासम्म चल्ने तय गरिएको थियो । तर दुई घण्टाभित्रै फर्किनुपर्यो ।

एयरलाइन्सका एक प्रवक्ताले मंगलबार एएफपीलाई भने कि प्राविधिक समस्याका कारण पाँचवटा शौचालय राम्ररी फ्लस हुन सकेनन्, त्यसपछि चालक दलले फर्किने निर्णय गरे । उनले भने, ‘जानकारीअनुसार अस्ट्रियन एयरलाइन्सको उडानमा यस्तो समस्या यसअघि आएको थिएन ।’ प्रवक्ताले विमान अहिले सच्याइसकेको र सेवामा फर्किएको जानकारी दिएका छन् ।

यस सम्पूर्ण घटनाका कारण यात्रुका लागि अर्को उडान बुक गरिएको थियो । विगतमा पनि धेरै कारणले विमानको आपतकालीन अवतरण हुने गरेको छ । गत जनवरीको कुरा गर्ने हो भने इङ्ल्यान्डबाट अष्ट्रेलियाका लागि उडेको विमानको इन्जिन हावामै बिग्रिएको थियो । यो उडान अस्ट्रेलियाको सिड्नी एयरपोर्टमा अवतरण हुने थियो ।

यो अचानक आपतकालिन अवस्थापछि एक अलर्ट सन्देश एयरपोर्टमा पठाइएको थियो । एम्बुलेन्ससँगै सबै आकस्मिक सेवाहरू त्यहाँ पुगेका थिए । तर, अन्त्यमा विमान सकुशल अवतरण भएको थियो । उडान क्वान्टास एयरलाइन्सको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ११:०७