बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीन पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा निर्माण थालिएको थियो ।
गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर हालसम्म तीन पटक म्याद थप भए पनि काम सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन ।
सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर नीरज शाक्यले भने, ‘सम्झौता अनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनक रूपमा निर्माण कार्य अघि बढेको छैन ।’
सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिम पटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो ।
दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको शाक्यले बताए । काम सन्तोषजनक रूपमा अघि नबढेपछि पछिल्लो समय पेस्की स्वरूप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उनको भनाइ छ ।
बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताए ।
सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए । सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष विकले बताए ।
सत्यपाटी संवाददाता । बाँके