सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको भारत भ्रमण कहिले ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति अझै टुङ्गो लाग्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको केहि दिनमै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए । तर, पाँच महिना पुग्न लाग्दासमेत भारतले उनलाई औपचारिक भ्रमणको निम्तो दिएको छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भारत भ्रमणको समय तालिका मिलाउन यथासम्भव कुटनीतिक प्रयत्न गरिरहेका छन् । तर, भारत भने प्रचण्डको भ्रमणका लागि त्यति उत्साहित नदेखिएको स्रोत बताउँछ । भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्य व्यस्तताको कारण देखाउँदै आलटाल गरिरहेको छ ।

फागुनको पहिलो साता नेपाल आएका विदेश सचिव विनयमोहन क्वात्राबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको औपचारिक निम्तो पाउने अपेक्षा गरेका थिए । तर, क्वात्राले भ्रमणको निम्तो दिएनन् । त्यो बेला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि भ्रमण हुने सक्ने भन्दै नेपाल पक्षले चित्त बुझायो ।

तर, नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि पनि भारतीय पक्षले खासै रुचि देखाएको छैन । पछिल्लो पटक वैशाखको दोस्रो साताका लागि भ्रमण तालिका बन्ने भनिएको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको सहजीकरणका लागि कांग्रेसभित्रको किचलो नमिल्दै एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।

परराष्ट्रमन्त्री साउद र भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले निरन्तर प्रयत्न गरे पनि भ्रमण तालिका मिलाउन सकेका छैनन् । भारतीय पक्षले भ्रमण ढिलो हुनुको कारण केही प्रदेशमा हुन गइरहेको विधानसभा निर्वाचनलाई देखाउने गरेको छ । यो वर्ष भारतका १० वटा प्रदेशमा विधानसभा निर्वाचन हुँदैछ ।

तीमध्ये त्रिपुरा, मेघालय र नागालैन्डको चुनाव सम्पन्न भइसकेको छ भने कर्नाटकमा मे १० मा चुनाव हुँदैछ । यसैगरी, छत्तिसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान, तेलंगना र जम्मुकश्मिरमा पनि चुनाव हुनेवाला छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यतिखेर कर्नाटकको निर्वाचन अभियानलाई विशेष महत्त्व दिइरहेका छन् ।

प्रचण्ड भने पहिलो भ्रमण भारतबाटै सुरुवात गर्ने मनसायले चीनको हेनानमा भएको ‘बोआओ फोरम’मा समेत सहभागी भएनन् । बोआओ फोरमका लागि चीनले प्रचण्डलाई विशेष महत्त्वका साथ निमन्त्रणा दिएको थियो तर, उनी गएनन् । यसअघि २०७९ असारको अन्तिम साता तीन दिने भारत भ्रमणमा गएका प्रचण्डलाई अन्तिम समयमा मोदीले भेट नदिइकन फर्काएका थिए ।

त्यो बेला मोदीसँग भेट्ने भनेर प्रचण्ड नयाँ दिल्ली गएका थिए । तर, उनी भाजपा अध्यक्ष जेपी नड्डासँग मात्र भेटेर फर्किएका थिए । अहिले पनि मोदी प्रधानमन्त्री प्रचण्डको भ्रमण र भेटघाटका लागि खासै इच्छुक नरहेको स्रोत बताउँछ । तर, नेपाल पक्षको बारम्बारको आग्रहले कर्नाटकको चुनावपछि प्रचण्डको भारत भ्रमण हुनसक्ने सम्भावना भने छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ०८:४६