वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ ।
अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
ढकाललाई आत्महत्या दुरूत्साहनको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत अनुमा मृत भेटिएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको थियो ।
प्रहरी अधिकृतहरुका अनुसार नोटमा विवाह नभएको विषय उल्लेख गरिएको छ । पारिवारिक स्रोतका अनुसार डा. ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय श्रेष्ठले विवाह गर्न पटकपटक भन्दा ढकालले नमान्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डा. ढकाल कोशी अस्पताल विराटनगरमा कार्यरत थिए ।
पछिल्लो केही समययता नर्स श्रेष्ठ मानसिक समस्यामा रहेको अस्पताल स्रोतले जनाएको छ । उनी औषधि सेवन गर्दै मनोसामाजिक परामर्श पनि गराइरहेकी थिइन् ।
उनको मृत्यु भएपछि परिवारले डा. ढकाल र उनका बुबाविरूद्ध किटानी जाहेरी दर्ता गराएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौँ