सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा खैलाबैला

अख्तियारको पत्रले प्रहरीमा हंगामा, काठमाडौंका एसएसपी धरापमा

नेपाल प्रहरी अस्पतालका प्रमुख एआइजी डा.आशा सिंह भ्रष्टाचारमा मुछिएकी छन् भने काठमाडौंका एसएसपी दानबहादुर कार्कीको कुर्सी धरापमा परेको छ ।

नेपाल प्रहरी अस्पतालमा चार करोड कमिसनको सेटिङ धरापमा परेको छ । महंगोमा एमआरआई खरिद गरी ठूलो रकम कमिसन खाने योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धक्का दिएको छ । आयोगले हालै पत्र लेखेर ठेक्का सम्बन्धी सबै कागजात मागेको छ ।

अख्तियारको प्रारम्भिक छानबिनमै बदनियत देखिएपछि ठेक्का रद्द हुने सम्भावना देखिएको छ । प्रहरी अस्पतालले करिब २८ करोड लागतमा एमआरई खरिद प्रक्रिया अघि बढाएको थियो । भएको एमआरआई मर्मत नगरी नयाँ खरिद गर्न लागिएकोमै प्रश्न उठेको थियो । कमिसनकै लागि एमआरआई खरिद गर्न लागिएको अहिले पुष्टि भएको छ ।

चिनियाँ कम्पनी सिमेन्सलाई मिल्ने गरी स्पेशिफिकेसन बनाएर टेन्डर प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि सिमेन्सका नेपाल प्रतिनिधि इष्ट वेष्ट कन्सर्नका सञ्चालक शेरसिंह श्रेष्ठले सेटिङ मिलाएका थिए । त्यसमा अस्पताल प्रमुख एआइजी डा.आशा सिंह विवादमा मुछिएकी थिइन् ।

अख्तियारले पत्र लेखेपछि उनको सेटिङ भत्कने सम्भावना बढेको छ । तर, अख्तियारलाई पनि मिलाउने भन्दै व्यापारी श्रेष्ठ दौडधुपमा लागेका छन् । अस्पतालमा सी–आर्म खरिदमा भने अनियमितता पुष्टि हुँदा पनि छानबिन भएको छैन । एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मुल्यमा खरिद गरेको छ ।

जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता भएको हो । स्पेशिफिकेसनका बुँदामा सो कम्पनीलाई मात्र मिल्ने सर्त राखिएको प्रष्ट हुँदा पनि छानबिन हुन सकेको छैन । एआइजी सिंहका साथै प्रहरी अस्पतालका इन्सपेक्टर सुरेन्द्र केसीले खरिदमा लामो समयदेखि अनियमितता गर्दै आएका छन् ।

इन्सपेक्टर केसी रक्षामन्त्री पूर्णबहादुर खड्काका भान्जा हुन् । खड्काकै आडमा उनी सधैं आकर्षक प्रहरी कार्यालयमा बसेर अुकत सम्पत्ति आर्जन गरिसकेका छन् । सोही कारण उनले हाकिमहरुलाई समेत टेर्ने गरेका छैनन् । प्रहरी अस्पतालमा पनि हरेक जसो ठेक्कामा उनको सेटिङ चल्ने गरेको स्रोत बताउँछ ।

काठमाडौंका एसएसपी धरापमा


जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीको कुर्सी धरापमा परेको छ । कार्यक्षमता कमजोर देखिएपछि उनलाई परिसरको जिम्मेवारीबाट हटाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । पछिल्ला केही घटनामा उनको कमान्ड कमजोर देखिएको छ ।

दुई महिनाअघि बालाजु बसपार्कमा भएको आगजनी र लुटपाट घटनामा बालाजु र सोह्रखुट्टे वृत्तका डिएसपीलाई मात्र कारबाही भएको थियो । त्यसमा एसएसपीको गम्भीर कमजोरी देखिएको थियो । बालाजु चोकमा बसेर उनी बसपार्क जाने आँटै नगर्दा ठूलो क्षती भएको थियो । सशस्त्र प्रहरी अघि बढेपछि मात्र उनी पछि लागेका थिए ।

यद्यपि, त्यो घटनामा उनीमाथि कारबाही हुन सकेन । त्यस्तै, गत साता मिटर ब्याजपीडितमाथि बल प्रयोग गरेको घटनाले पनि प्रहरी मात्र होइन सरकार नै बदनाम हुन पुगेको छ । गृहमन्त्रीले सो विषयमा फिल्डका प्रहरी अधिकृतले गलत रिपोर्टिङ गरेको सार्वजनिक रुपमै बताइसकेका छन् । यस विषयमा पनि छानबिन समिति बनाइएको छ ।

त्यस्तै, कतिपय अपराधका घटनामा पनि परिसरको काम कमजोर देखिएको छ । कपनकी निरा आचार्य हत्याको घटनामा सिआइबी र अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्दा परिसरका कोही अधिकृत देखिएनन् । परिसरका अधिकारीहरु मिटरब्याजीको पैसा उठाउनेमै व्यस्त छन् ।

सोही कारण गृहमन्त्रालयले काठमाडौंका एसएसपी हटाउने तयारीमा लागेको स्रोत बताउँछ । भुटानी शरणार्थीका नाममा भएको ठगी घटनाको अनुसन्धान नटुंगाएसम्म उनलाई त्यही राख्न लागिएको छ । त्यस्तै, दरबारमार्ग, सोह्रखुट्टे र जनसेवाका डिएसपीको कमान्ड पनि निकै कमजोर देखिएको छ ।

दरबारमार्गमा कोपिला चुँडाल, सोह्रखुट्टेमा गणेश बम तथा जनसेवामा भेषराज रिजाल छन् । उनीहरु तिनै जना क्षमता भन्दा पनि शक्तिकेन्द्रको आशिवार्दनमा त्यहाँ खटिएका हुन् । दरबारमार्ग प्रहरीको अवस्था कस्तो छ भने गत महिना स्ववियु चुनावको बेला त्रिचन्द्र क्याम्पसका ३–४ जना बिद्यार्थीले घन्टाघरदेखि वृत्तसम्म प्रहरीलाई लखेटेका थिए । काठमाडौंको पुलिसिङमा यस्तो लज्जास्पद घटना कहिल्यै नभएको प्रहरी अधिकारी बताउँछन् ।

भानु देउवाको आफन्त भएकै आधारमा सोह्रखुट्टे पाएका बम यसअघि बालाजु घटनामा कारबाहीमा परिसकेका छन् । रात्रीकालिन व्यवसायीलाई उनले रेट नै राखेर पैसा असुल्ने गरेको उजुरी पर्दा पनि कारबाही हुन सकेको छैन । दरबारमार्ग र सोह्रखुट्टेका डिएसपीको सरुवाको तयारी भइरहेको छ । साथै दुई महिनाअघि जनसेवा पुगेका रिजालको पनि पुलिसिङ कमजोर भएको रिपोर्ट प्रहरी प्रधान कार्यालय पुगेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:०७