सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिएर बचाए सुत्केरीको ज्यान

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा सुत्केरी हुन आएकी एक महिलालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका छन् । आठविसकोट नगरपालिका–१० झिमचौर निवासी ३० वर्षीया डिला खत्री चौरजहारी अस्पतालमा आउनुभएको थियो ।

आठविसकोटबाट जिल्ला अस्पताल जाजरकोट सुत्केरी हुन आएकी डिलालाई जाजरकोटमा जटिल शल्यक्रिया नहुने भएपछि चौरजहारी अस्पताल सिफारिस गरिएको थियो । रक्तअल्पताको भएको र तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि चौरजहारी अस्पतालका चिकित्सकले तत्काल रगतको व्यवस्था गर्न परिवारका सदस्यलाई भनेका थिए ।

परिवारका सदस्यहरुले बी पोजेटिभ समूहको रगत व्यवस्थापन गर्न सकेनन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र इलाका प्रहरी कार्यालय चौरजहारीमा कार्यरत सुरक्षाकर्मीले रगतदान गरी डिलाको ज्यान बचाएका थिए । खत्रीका लागि चौरजहारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी जय वुढा, सुन्दर वुढा र स्थानीय योगेश आचार्यले रगत दिएका थिए ।

साथै इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी विशाल विक र शेरबहादुर रावतले रगतदान गरेका अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । डिलाको अत्याधिक रक्तश्रावका कारण शरीरमा रगतको कमी हुनुका साथै पाठेघरबाट शिशुको हात बाहिर निस्केको थियो । डिलाको गम्भीर अवस्था रहेको स्त्रीरोग विशेषज्ञ डाक्टर शिला सुनारले बताइन् ।

‘अवस्था गम्भीर प्रकृतिको थियो,’ डा.शिलाले भनिन्, ‘शरीरमा चार पिन्ट मात्र रगतको मात्र थियो । अर्काे अस्पतालमा रिफर गर्दा पनि बाटोमै जाने खतरा थियो । स्वास्थ्यकर्मीले रगतदान गरेपछि हामीले सफल शल्यक्रिया सक्यौँ ।’ डा. शिलाका अनुसार गर्भ रहेको ३७ हप्तापछि शिशु जन्मिनु सामान्य मानिन्छ । तर डिला ३० हप्तामै सुत्केरी लागेपछि अस्पताल आएकी थिइन् ।

‘हाम्रो बिरामी वाँच्ने अवस्था न्यून थियो, बोक्ने मान्छे नहुँदा जाजरकोटको कुदुबाट आफैँ हिँडेर अस्पताल पुग्नुभयो । बाटोमा पनि रक्तश्राव भइरहेको थियो,’ डिलाकी आफन्त रञ्जना बटालाले भनिन्, ‘विहानको २ बजे सुतेका अस्पतालका कर्मचारीले रगत दिएर ज्यान बचाउँदा हामी खुशी छौँ ।’ रञ्जना पनि स्वास्थ्यकर्मी हुन् । रगतको जोहो गर्न कति कठिन हुन्छ भन्ने उनलाई थाहा छ ।

एक पटक रक्तदान गरेपछि तीन महिनासम्म रगतदान गर्न मिल्दैन । तर एक स्वास्थ्यकर्मीले रक्तदान गरेको तीन महिना नपुगे पनि आफ्नो बिरामीलाई रगत दिएर बचाएको रञ्जनाले सुनाइन् । ‘यो गुण हामी कहिल्यै भुल्ने छैनौँ,’ रञ्जना भन्छिन् । चिकित्सक तथा सुरक्षाकर्मीले रगतदान गरेपछि सफल शल्यक्रियापछि अहिले आमा र वच्चाको स्वास्थ्य सामान्य रहेको अस्तालल जानकारी दिएको छ ।

साथै सोही दिन थप दुई जना अस्पतालमा प्रसूति हुन आएका महिलाको पनि जटिल शल्यक्रियाद्वारा बच्चा निकालिएको छ । चौरजहारी नगरपालिका–७ निवासी १७ वर्षीया विनिता केसी र सल्यानको कुमाख गाउँपालिका–१ टाट्के की ३० वर्षीया झरना घर्तीको पनि शल्यक्रिया गरिएको थियो । विनिताको २८ हप्तामा नपुगी सुत्केरी व्यथा लागेर अस्पतालमा शल्यक्रिया गरी शिशु निकालिएको हो ।

शिशुलाई एनआइसीयूमा राखेर उपचार गर्न प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । ३६ हप्तामा शल्यक्रिया गरिएको झरनाका शिशुको मृत्यु भएको छ । विगत दुई दशकदेखि रुकुम, सल्यान, जाजरकोट जिल्लाको केन्द्रका रुपमा लिइइने चौरजहारी अस्पतालमा हालसम्म ब्लड बैंक स्थापना हुन सकेको छैन । ब्लड बैंक नहुँदा अस्पतालमा रक्तश्राव भएर उपचार गर्न आउने गर्भवती महिला लगायत अन्य बिरामीहरुको ज्यान जोखिममा छ ।

अत्याधिक रक्तश्राव भएर अस्पताल आउने सुत्केरी तथा अन्य विरामीहरुलाई अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य व्यक्तिले रगतदान गरी ज्यान जोगाउने गरेका छन् । अस्पतालमा उपचार सेवा लिन आउने, सरल तथा जटिल प्रकृतिका शल्यक्रिया हुने चौरजहारी अस्पताल कर्णाली प्रदेश अस्पतालपछि दोस्रोमा पर्छ । तर अस्पतालमा ब्लड वैंक नहुदा सुत्केरी हुन महिला तथा अन्य बिरामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य सर्वसाधारणको रक्त समूह नमिल्दा ज्यानै धरापमा पर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०८:४०