कर्णालीमा ८२ हजार जमिन बाँझो रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सिंचाई तथा खनजोत अभावले ८२ हजार ४५९ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको हो । खेतीयोग्य जमिनमध्ये ६८ हजार ३३५ हेक्टरमा सिंचाइ सुविधा रहेको छ ।
कूल खेतीयोग्य जमिनको ३१ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा छ । कृषिबाटै कर्णालीमा आर्थिक समृद्धि भित्राउने सकिने पर्याप्त सम्भावना हुँदा पनि स्पष्ट नीति, योजना र बजेट अभावले कर्णालीमा हजारौ हेक्टर जमिन बाँझै रहेको हो ।
जुम्लामा १४ हजार ५१ हेक्टर खेतीयोग्य जमिन बाँझो छ । जताततै स्याउ खेती गर्न सकिने उर्वर भूमि भए पनि सरकारी नीति कृषिमैत्री नहुँदा जमिन बाँझै रहेका छन् । त्यस्तै, सुर्खेतमा ५५ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये ३७ हजार ४४४ हेक्टरमा मात्रै खेती गरिएको छ ।
१७ हजार ७५६ हेक्टर जमिन अझै बाँझो रहेको छ । रुकुम–पश्चिममा २५ हजार १२६ हेक्टर जमिनमा खेती गरिएको छ भने १० हजार २३४ हेक्टर, सल्यानमा ६ हजार ६१७ हेक्टर, दैलेखमा आठ हजार ६२४ हेक्टर, जाजरकोटमा आठ हजार ६८६ हेक्टर जमिन बाँझो छ ।
त्यस्तै डोल्पामा दुई हजार ७४० हेक्टर र कालीकोटमा आठ हजार २३४ हेक्टर, हुम्लामा तीन हजार ५९८ हेक्टर र मुगुमा ९१९ हेक्टर जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । खेतीयोग्यमध्ये सबैभन्दा बढी बाँझो जमिन कालीकोटमा छ भने सबैभन्दा कम मुगुमा रहेको छ ।
कर्णाली प्रदेश सरकारले आव २०७७–०७८ को नीति तथा कार्यक्रममा कर्णालीमा बाँझो जग्गा राख्ने नपाउने नीति लिएको थियो । बाँझो जग्गा खनजोत गर्ने र उत्पादन बढाउने किसानलाई अनुदान दिने नीति ल्याउँदा किसान खुसी थिए । कर्णालीका तत्कालीन कृषि मन्त्री विमला केसीको कार्यकालमा आव २०७७–०७८ मा बाँझो जमिन खनजोत तथा उत्पादन बृद्धिका लागि १४ करोड बजेट विनियोजन गरिएको थियो ।
खेतीयोग्य बाँझो जग्गाामा खनजोत गरी उत्पादन बढाउने र किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार बाँझो जगाा राख्न नपाइने नीति प्रदेश सरकारले लिएको थियो । सोही अनुसार कर्णालीका विभिन्न जिल्लामा बाँझो जग्गा खनजोत पनि थालिएको थियो । तर प्रदेश सरकारले पछिल्लो नीति तथा कार्यक्रममा बाँझो जग्गा खनजोत कार्यक्रमलाई निरन्तरता नदिएपछि कर्णालीमा खेतीयोग्य जमिन बाँझीने क्रम बढेको हो ।
राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदनले कर्णालीबाट विदेशीने यूवाको संख्या बढ्दै गएको देखाइएको छ । तर भारत जाने संख्या भने सरकारको गणनामा आउने गरेको छैन । कर्णालीमा कूल खेतीयोग्यमध्ये १८ प्रतिशत जग्गा बाँझो छ । कृषि उत्पादनमा जोड दिने प्रभावकारी नीति–कार्यक्रम नल्याउँदा खेतीयोग्य जमिन सदुपयोग हुन नसकेको किसान बताउँछन् ।
कोरोना अवधिमा खाद्य संकट निम्तिएपछि आफ्नै उत्पादन बढाउनुपर्ने पाठ सिक्दै बाँझो जग्गा नराख्ने नीति लिएको कर्णाली सरकारले पछिल्लो वर्षमा निरन्तरता नदिँदा खेतीयोग्य जमिन बाँझिदै गएको हो । खेतीयोग्य जमिन बाँझिएकै कारण कर्णालीमा वर्षेनी हजारौ मेट्रिकटन खाद्यन्न आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।
कर्णाली प्रदेशभर दुई लाख ९९ हजार ३३९ हेक्टर जमिन खेतीयोग्य रहेको सरकारी अधिकारीहरु बताउँछन् । यसमध्ये दुई लाख १६ हजार ८८० हेक्टर जमिनमा तीन लाख ३९ हजार ९०९ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । तर, कर्णालीमा वार्षिक तीन लाख ५८ हजार ३१६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।
सत्यपाटी संवाददाता । कर्णाली