सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमा जमुनाह नाका ७२ घन्टाका लागि बन्द

नेपाल–भारत सीमा जमुनाह नाका १९ वैशाख रातिदेखि सिल हुने भएको छ ।

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा २१ वैशाखमा हुने गाउँ पञ्चायत निर्वाचनलाई मध्यनजर गरी १९ वैशाख मध्यरातदेखि ७२ घन्टाका लागि सीमानाका सिल हुन लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत बन्द हुनेछ । नाका सिल गर्ने विषयमा सोमबार नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको छ । बैठकले सीमानाका सिल, सीमामा हुन सक्ने आपराधिक गतिविधिलगायत विषयमा छलफल भएको उनले बताए ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न भारतले आग्रह गरेको उनले बताए । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल (एसएसबी)ले सीमामा संयुक्त गस्ती गर्ने सहमति पनि भएको छ ।

नाका सिल गरेर सीमाक्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार नाकामा गस्ती गर्ने सहमति भएको छ । खुला सीमाका कारण सहायक नाकामा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०८:५५