सूचनाको शक्ति - The Power Of Information

        

बढुवा सिफारिस नभएपछि एसपी तिम्सिनाले दिए राजीनामा

बढुवा सिफारिसमा नपरेपछि नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको जानकारी गराएका छन्।

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो। आफू सिफारिसमा नपरेपछि तिम्सिनाले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

‘मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाढ निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो, त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिए,’

उनले भनेका छन्, ‘तर आज मिति २०८० साल वैशाख १७ गतेबाट म मैले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरीजस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु।’

उनले नातावाद, कृपावादबाट नेपाल प्रहरीका क्षमतावान कर्मचारी कहिले मुक्त हुने? भनेर प्रश्नसमेत गरेका छन्। उनी अगाडि भन्छन्, ‘नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने?’

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार १९:००