सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

समय सन्यास

मैले मुक्तिको गीत गाएँ
र समातेँ समयको पखेटा
बिस्तारै गीतका अन्तराहरुमा
भर्दै गएँ सप्तस्वर
जीवनको भाश्वर भाका, खोजें
छाम्न थालें आफ्नै हृदयको आलो घाउ
स्पर्श गर्न खोजें समयको मन्द मन्द चिसो हावा

बेस्सरी उड्यो बतास
उडाउन खोज्यो अहर्निश सत्यको आधार
समय शृङ्खलाका हुण्डरीमा
चेपिंदै गयो बिहानको रातो घाम
र पोखिन थाल्यो वर्वर राप

एउटा मन्दिरको टुडालमा
वकुल्लाझैं बसेको सेतो परेवा
बिस्तारै कालो रङ्गमा फेरिन थाल्यो
र समयले वान्ता गर्यो
ढुंसी परेको बासी इतिहास
कमलको फूलमा जिराहा कथा वाचक
जो हरदम वकिरहन्छ
लोकतन्त्रको भ्वाङबाट देखिएको, औंसाहा परेको
खुनी पन्चतन्त्रका आध्यबिम्व

बिस्तारै बिस्तारै गीतका अन्तराहरु
कुपमनडपको छाँयामा तरङ्गित हुन थाले
म भ्रमित हुँदै गएँ
बाटोभरि पोखियो सेतो जूनको कालो छाँया
र खोज्न थालें
आफ्ना पुर्खाहरुको हाडखोर
मेरा निम्छरा आँखा वरिपरी घुम्नथाले
कल्प कल्प कि भगीरथीको चीरहरणजस्तो अश्लील चलचित्र
आंखामा लाग्यो तुषाराको पर्दा
र आफ्नै मस्तिष्क बेचेर
पसें, ध्वंस बोकेको आधार शिविरतिर

मैले मुक्तिकी गीत गाएँ
र रोमाञ्चक भएँ
समयसंगको प्रणय प्रलाप
मानिसहरुको भविष्य भाष्य
अस्था आस्थाको भर्याङका खुड्किलाहरु
विश्वास विश्वासका सोपान छाँया
चिहानघाटमा व्याप्त मूर्दाशान्ती

म जलिरहेको रहेछु, चिर्पटको चितामा
कालान्तरमा म समाधीस्थ भएँ
रातो पीताम्वर ओढ्ने कथावाचकतिर
टुलुटुलु हेर्दै, मेरा दृश्यहिन आँखा
समयले धारण गरेको सन्यास व्रतमा
ध्यानस्त भए मेरा सर्वेन्द्रीयहरु

मैले गाउने मुक्तिका गीतहरु
बिस्तारै मेरा ओठबाट हराउन थाले
मैले समयलाइ रियल स्टेट बनाएर किनें
अलिकती विचार उम्रने बन्जरभूमि
र च्याखे थापें गणतन्त्रको खालमा
चौका दाउ रोजेर
आफ्नै गुप्ताङ्ग छोप्ने चार अंगुलको लगुटि
मैले मुक्तिको गीत गाएँ
र उन्मुक्तिको वन्धक भएँ

स्रोत : बरिष्ठ पत्रकार तथा साहित्यकार
प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार १०:२९