सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार चार खेल हुँदैछ ।

वर्षा र खराब मौसमले शनिबार रोकिएका दुई खेल आइतबार पुरा हुनेछ । शनिबार हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । १–१ गोलको बराबरीमा रोकिएको सोही खेलको बाँकी १९ मिनेटको खेल आइतबार दिउँसो साँढे ४ बजे दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा आइतबार नै हुने दोस्रो खेलमा साँझ ६ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र पाँचौं तथा सातदोबाटो सातौं जितको खोजीमा हुनेछन् । मछिन्द्र १७ अंक जोडेर सातौं स्थानमा रहँदा सातदोबाटो २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेल हुनेछ । दिउँसो १ बजे संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । संकटा र जावलाखेलबीचको खेल शनिबार ५१ औं मिनेटमा स्थगित भएको थियो । खेल रोकिंदा जावलाखेलले १–० को अग्रता लिएको थियो ।

एन्फा कम्प्लेक्समा आइतबार हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् । यो खेल शनिबार दरशरथ रंगशालामा हुने तय थियो । तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित गरिएको हो ।

चर्च ब्वाइज र मनाङ दुवै पाँचौं जितको योजनामा हुनेछन् । चर्च ब्वाइज १८ अंक जोडेर पाँचौं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०९:३४