सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शनिबार साँझ चट्याङले लागेको थियो ।

चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् ।

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । उनको बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको छ ।

उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०७:०३