सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पश्चिमी वायूसँगै प्रि–मनसुन सक्रिय, अझै तीन दिन बर्षा

प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन–चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहनेछ ।

काठमाडौं उपत्यकामा शनिबार अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा ३१ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ ।

आज पोखरामा २३ दशमलव दुई मिलिमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलिमिटर मध्यम र ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनले भनिन, ‘देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौँ उपत्यका, पोखरा ताप्लेजुङ लगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।’

काठमाडौँमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन् । निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।

अझै तीन दिन वर्षा

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

‘पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । भोलि र पर्सी पनि वर्षाको सम्भावना छ,’ उनले भनिन् ।

प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन–चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्यारूसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्यारूसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०६:५९