सवारीको अत्याधिक चाप रहने बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई पाँच बर्षअघि २०७५ मंसिर १ गते हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा गरियो । ध्वनि प्रदूषण नियन्त्रण गर्न भन्दै तामझामका साथ ‘नो हर्न’ अभियान सुरु गरेको थियो ।
नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार उपमहानगर क्षेत्रमा ‘हर्न’ सवारी साधनले हर्न बजाए रु एक हजार ५०० जरिवाना पनि तोकियो । दुई–चार महिना कडाईका साथ अभियान चल्यो । ट्राफिक प्रहरीमा नयाँ हाकिम फेरिएसँगै अभियान एकाएक तुहियो ।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा बजार क्षेत्रमा निषेध गरेको हर्न जतिबेला पनि बजिरहेको सुनिन्छ । हचुवाको भरमा ट्राफिक प्रहरीले ध्वनि प्रदूषण गराउने गरी ‘हर्न’ बजाउने गाडीलाई कारवाही गर्नको साटो असुलीतिर सक्रिय बनेपछि ‘नो हर्न’ अभियान निस्क्रिय बन्यो ।
‘नो हर्न’ अभियान सुरु गरेको तीन–चार महिनामै बाँकेमा ट्राफिक प्रहरीले लेन मिच्नेलाई कारबाही गर्ने नियम ल्यायो । चोक–चोकमा ‘मार्किङ्ग’ गरियो, जेब्रा क्रसमा इनामेलले पोतियो । एक दुई महिना जेनतेन लेन अनुशासन कार्यान्वयनमा आएझै भयो ।
अहिले पनि लेन अनुशासन मिच्नेमाथि प्रभावकारी कारबाही त के सामान्य सोधपुछ र सचेत समेत गराउनेतर्फ ट्राफिक प्रहरीलाई मतलब छैन । ट्राफिक प्रहरीलाई ‘मन लागेको बेला’ अनुशासन मिच्ने सवारी साधनमाथि कारबाही गरिन्छ ।
ट्राफिक प्रहरीले फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई कारबाही गर्ने अभियान पनि सुरु गरेको थियो । केही ‘देखाउनका लागि’ आक्कल झुक्कल ‘फलानो’ अभियान भन्दै केही कार्यक्रम गरेपछि ती अभियानहरु पनि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ हुन्छ ।
सडक उस्तै अस्तव्यस्त हुन्छ, भइरहेको छ । बाँकेमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ अभियान सञ्चालन गरेको थियो । अहिले उक्त अभियानको ‘नामोनिसान’ छैन । हाकिमका दिमागमा जे आउँछ त्यही ‘फलानो अभियान, हलानो अभियान’ भन्दै केहीदिन ढ्याङ्ग्रो खुबै ठटाइन्छ ।
अझ नयाँ हाकिम फेरिएको एक–दुई महिना निकै कडाई हुन्छ । केहीदिन चोक चोराहमा खुबै ढ्याङ्ग्रो ठटाइन्छ । ‘अहिले बाँकेमा दैनिक तीन–चार स्थानमा ‘चेकिङ्ग’ चल्छ, अहिले साँझ विहान नै दैनिकजसो चेकिङ्ग अभियान चलिरहेका छन्,’ ट्राफिक प्रहरी स्रोतले भन्यो ।
शुक्रबार मात्रै नेपालगन्ज–कोहलपुर सडक खण्डको तीन स्थानमा कडा चेकिङ्ग थियो । त्यसो त नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस नजिकै रहेको ट्राफिक चोकमा नियमित चेकजाँच चन्छ । यहाँ राजस्वका नाममा नियमित ‘खल्ती राजस्व’ राम्रै संकलन गरिन्छ ।
त्यसो त बाँके ट्राफिकमा नयाँ हाकिम आएसँगै एक–दुई महिना चेकिङ्गको ढ्याङ्ग्रो खुबै ठटाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा नयाँ हाकिमका रुपमा प्रहरी निरिक्षक तिलकबहादुर सुनार आएसँगै ‘चेकिङ्गको ढ्याङ्ग्रो’ ठटाइएको छ ।
‘दुई महिनापछि सबैतिर ‘सेटिङ्ग’ मिल्छ, अनि चेकिङ्गको ढ्याङ्ग्रो ठटाउन छाडिन्छ,’ ट्राफिक प्रहरी स्रोतले भन्यो । प्रहरी निरिक्षक सुनार प्रहरी प्रधान कार्यालयबाट २०७९ फागुन २६ मा काज सरुवा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा आएका हुन् ।
त्यसो त उनी बाँकेमा आएलगत्तै सवारी सवारी चालक अनुमति पत्रसँग सम्बन्धीत सबै काम बन्द गराएका थिए । अहिले लाइसेन्समा सेटिङ्ग मिलेपछि आफ्ना विश्वास पात्रका रुपमा सई भुपेन्द्र बिष्ट र जवान कमल बनजाडेलाई खटाएका छन् ।
नयाँ हाकिम सुनार आएसँगै डेढ महिनाजति सवारी लाइसेन्सका परिक्षाहरु खल्बलिए । अहिले सेटिङ्ग मिलेपछि ती सबै परिक्षाहरु धमाधन भइरहेका छन् । सवारी लाइसेन्सका परिक्षाहरुमा आफ्ना विश्वास पात्र बिष्ट र बनजाडेबाहेक अरुलाई जान अनुमति छैन ।
लाइसेन्स वितरणमा आधा दर्जन पक्षबीच सेटिङ्ग चल्छ । कुनै एउटा पक्ष सहमत नभएमा यातायात कार्यालय एक्लैले लाइसेन्स सम्बन्धी परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नै हुँदैन । यातायात स्रोतले भन्यो, ‘उहाँ आएपछि रोकिएका परिक्षा अहिले नियमित भएका छन् ।’
त्यसो त बाँके ट्राफिक प्रमूखमा सुनार आएसँगै कार्यालय मातहत रहेको पोष्टहरुले मासिकरुमा जिल्लालाई बुझाउनुपर्ने ‘असुली’ रकम तोकेरै आन्तरिक सर्कुलर भएको चर्चा ट्राफिक प्रहरीभित्र फैलिएको छ । यसको केही विवरण प्राप्त भए पनि पुष्टि हुन भने बाँकी छ ।
यता सार्वजनिक बस होस् या अटोरिक्सा ! जताततै भाडा असुली मनलाग्दी छ । जसका कारण सार्वजनिक सवारी साधनका उपभोक्ता मारमा परेका छन् । चालकले जति भन्यो, त्यति रकम तिर्न यात्रु बाध्य रहेको गुनासाहरु आइरहेका छन् ।
समग्रमा बाँकेमा ट्राफिक नियम कार्यान्वयनतर्फ ट्राफिक प्रहरी बेखबर छ । सुझबुझबिनै सस्तो लोकप्रियताका लागि नियम बनाएर नागरिक तर्साउँदै असुलीतिर ध्यान दिँदा ट्राफिकले ल्याएका राम्रा योजना पनि कार्यान्वयन हुन सकेका छैनन् ।
सत्यपाटी संवाददाता । बाँके