सूचनाको शक्ति - The Power Of Information

        

बसाइँसराइले रित्तिँदै गाउँका आकर्षक घर

हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती ।

यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाख्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । घरको धुरीबलो मक्किन थालेको छ ।

केटाकेटीको कोलाहल सुनिन छोडेको धेरै भयो । गाउँको सौन्दर्यलाई चटक्कै बिर्सेर घरमुली बसाइँ सरेपछि अहिले जिल्लाका अरु गाउँझै वाइन्दाफाँटको गाउँ पनि एक्लिएको छ । गाउँका घरधुरी घरमुली फर्केर आउँछन् की भनेर कुरिरहेकाजस्ता देखिन्छन् । गाउँमा ढुङ्गेघर अब हराउँदै गएका छन्, गाउँका मान्छे हराएझैँ ।

ढुङ्गाले छाएका घर भत्काएरजस्ता पाता र कङ्क्रिटका घर निर्माण गरिए पनि ती घरमा बस्ने मानिस भने गाउँबाट पातलिँदै जान थालेका मालिका गाउँपालिका–७ का रामबहादुर पुनले बताए । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँगाउँमा पक्की घर बनाउने लहर चलेको छ ।

कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका उनको भनाइ रहेको छ । ‘डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे ।

‘ती घरमा बस्ने मान्छेहरु पनि हुन्थे । तर, अहिले न परम्परागत घर बचेँ न नयाँ बनाइएका घरमा मान्छे नै बसे,’ पुनले भने, ‘गाउँमै नबस्ने भए पुर्ख्यौली चिनोलाई नासेर किन बनाउनु नयाँ घर ?’ पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा परम्परागत रैथाने प्रविधिका घरले मनै लोभ्याउने गर्थे ।

रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत शैली निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्थे । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढ्यो तर मान्छे गाउँमा बस्ने चलन घटेको यहाँका ज्येष्ठ नागरिकको भनाइ छ ।

सडकको पहुचका कारण ती पुराना परम्परागत घरहरु नासिँदै गएको पाका पुस्ताको बुझाइ छ । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् ।

यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्याएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म म्याग्दी जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवल लगायतका ठाउँमा गएका छन् ।

स्थानीय तहका पञ्जीकरण शाखाका अनुसार चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट २४२, रघुगङ्गा गाउँपालिकाबाट ११४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट १२४, धौलागिरि गाउँपालिकाबाट ३०५ र अन्नपूर्ण गाउँपालिकाबाट १४७ गरी एक हजार ९१ जना बसाइँसराइ गरी अन्यत्र गएका हुन् ।

मानिस बसाई सरेर गएपछि गाउँका घर उदाङ्गिएका छन् । गाउँमा सडक आएपछि गाउँलेले शहर बजार जस्तो परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए । ‘डेढ दशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके,’ उनले भने ।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ । यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको स्थानीयवासीको भनाइ छ ।

दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक–दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीयको अनुमान छ । सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएका छन् । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् ।

वैदेशिक रोजगारको कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ । मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले बसाइँसराइले गाउँ रित्तिँदै गएको बताए । गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दै जानुको साथै संस्कृति र परम्परासमेत लोप हुने अवस्थामा पुगेपछि ग्रामीण भेगका पाका नागरिक चिन्तित हुन थालेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १५:४९