सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बढ्दैछन् महिला लागूऔषध प्रयोगकर्ता

लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरूका अनुसार बाँकेमा पछिल्ला वर्षहरूमा महिला लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा लागूऔषध सेवन गर्ने महिलाको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिँदै त्यसो नगरिए अवस्था गम्भीर हुने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।

दिनप्रतिदिन वृद्धि हुँदै गएका लागूऔषध प्रयोगकर्तामध्ये ठूलो सङ्ख्या दुर्गम जिल्लाबाट नेपालगन्ज आएका महिला तथा छात्राहरू रहेको तथ्य बाहिर आएको छ । लागूऔषध सेवन रोकथामका लागि काम गर्दै आएको चेन्ज टिमका कार्यक्रम संयोजक इन्दिराकुमारी जीसीले बाँकेमा लागूऔषध प्रयोगकर्ता पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी भएको बताइन् ।

उहाँले जिल्लामा धेरैजसो लागूऔषध प्रयोग गर्ने महिलाहरू यौन पेसामा पनि सक्रिय भएको पाइएको बताउनुभयो । भेरी अस्पतालमा कार्यरत लागूऔषध स्रोत व्यक्ति डा. दीप्ति काफ्लेले जिल्लामा रहेका महिला लागूऔषध प्रयोगकर्तामध्ये धेरै कम मात्र उपचार पद्धतिमा आउने गरेको बताइन् ।

उनले खुला सिमानादेखि लिएर अन्य विभिन्न कारणले लागूऔषधको प्रयोग गर्ने महिला ह्वात्तै बढेको देखिएको बताइन् । बाँकेमा आर्थिक वर्ष २०७८–०७९ तथ्याङ्क हेर्दा दुई लाख ३९ हजार ४२ वटा सिरिन्ज र ९१ हजार १० वटा कन्डम लागूऔषध प्रयोगकर्तालाई वितरण गरिएको चेन्ज टिमले जनाएको छ ।

त्यस्तै एक हजार ९७२ जनामा एचआईभी परीक्षण गरिएकोमा नौ जना पुरुष र एक जना महिलामा एचआइभी पोजेटिभ देखिएको सो संस्थाले जनाएको छ । चेन्ज टिमले लागूऔषध प्रयोगकर्तालाई रोग लाग्नबाट बचाउने अभियान सक्रिय रूपमा चलाउँदै आएको छ ।

सो संस्थाले सिरिन्ज प्रयोग गर्ने लागूऔषध प्रयोगकर्तालाई एचआइभी, हेपाटाइटिसजस्ता रोगबाट बचाउन सकभर प्रयोग गर्न नदिने वा हरेक पटक नयाँ सिरिन्ज प्रयोग गर्नका लागि निःशुल्क सिरिन्ज वितरण गर्ने काम गरिरहेको छ ।

साथै लागूऔषधविरुद्ध काम गरिरहेको छाता सङ्गठन रिकभरी नेपालले लागूऔषध प्रयोगकर्तालाई उपचारमा जोड्न विभिन्न सङ्घ–संस्थासँग सहकार्य गरिरहेको संस्थाका स्रोत व्यक्ति प्रविन बिसीले बताए । भेरी अस्पतालले सम्पर्कमा आएका लागूऔषध प्रयोगकर्तालाई उनीहरूको अवस्था अनुसार मेथाडोन र बुप्रेनोफिन औषधि सेवन गराएर लागूऔषधको लत छुटाउने काम गरिरहेको छ ।

लागूऔषध प्रयोगकर्ताले उपचारको समयमा ध्यान नदिँदा मृत्युसमेत हुनसक्ने चिकित्सकको भनाइ छ । डा.काफ्लेका अनुसार लागूऔषध प्रयोगकर्ताले औषधि प्रयोग गरेको अवस्थामा अल्कोहल अथवा लागूऔषध प्रयोग गरेको अवस्थामा हाइडोज भएर बिरामीको मृत्य हुने गर्दछ ।बाँकेको विगत एक वर्षको तथ्याङ्क हेर्ने हो भने १६७ जना पुरुष र १२ जना महिला सम्पर्कमा आएका छन् ।

जसमा ५९ जना पुरुष र पाँच जना महिलाले मात्र नियमित मेथाडोन र बुप्रेनोफिन औषधि सेवन गरिरहेका छन् । त्यस्तै सम्पर्कमा आएका मध्ये सात जना कारागारमा, १७ जना सुधार केन्द्रमा, ४१ जना अन्य क्षेत्रमा बसाइँसराइ गरेर गएको, १६ जना भारत गएको, ११ जना वैदेशिक रोजगारीमा गएको र सात जनाको मृत्युसमेत भइसकेको पाइएको चेन्ज टिमले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ०७:४२