सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक समीकरणको असर

तीन प्रदेशमा मुख्यमन्त्री गुमाएको एमालेलाई कोशी प्रदेशमा पनि संकट

बदलिएको गठबन्धनसँगै एमालेले गण्डकी, कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गुमाइसकेको छ । ती तीन वटै प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएका छन् ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै त्यसको प्रत्यक्ष असर प्रदेशमा पनि परेको छ । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धनमा फर्किएपछि त्यसको असर संघीय सरकार र प्रदेश सरकार दुवैमा परेको हो ।

गत पुस १० गते नेकपा एमालेसहितको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । प्रचण्ड एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री बन्दा एमालेले चार प्रदेशको नेतृत्व पाएको थियो । तर, राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा समीकरण फेरिँदा त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।

एमाले केन्द्रमा सरकारबाट बाहिरिनुको साथै तीन प्रदेशको नेतृत्व पनि गुमाएको छ । अहिले एक प्रदेशमा मात्रै एमाले नेतृत्वको सरकार छ । संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर कोशी प्रदेशबाहेक ६ वटा प्रदेशमा परेको छ । कोशीमा पनि एमाले नेतृत्वको सरकार चाँडै ढल्ने सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरेसँगै चार प्रदेश सरकारको नेतृत्व गरेको एमाले अब एक प्रदेशमा सीमित बन्न पुगेको छ । निर्वाचनलगत्तै कोशी (प्रदेश–१), गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनेको थियो । बदलिएको गठबन्धनसँगै एमालेले गण्डकी, कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गुमाइसकेको छ ।

ती तीन वटै प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएका छन् । साढे ३ महिनामा एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वमा सरकार बनेका छन् । उनीहरु दुवै जनाले आज पद तथा गोपनियताको शपथ लिएर कार्यभार ग्रहण गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि प्रदेशमा एमाले नेतृत्वका सरकार ढलेका हुन् । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यस्तै, लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको थियो ।

माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मधेशमा माओवादी र जनमत पार्टी भने सुरुदेखि नै सरकारमा छन् । बागमती र कर्णाली भने माओवादी नेतृत्वको सरकार रहको छ । माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । त्यसपछि कर्णाली सरकारमा कांग्रेस सहभागी भएको छ ।

कोशी प्रदेशमा भने सत्ता गठबन्धनलाई सरकार परिवर्तन गरिहाल्न अङ्कगणितले अप्ठ्यारो पारेको देखिन्छ । कोसी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठन गर्न ४७ सांसदको मत चाहिन्छ । सबैभन्दा ठूलो दल एमालेका ४० जना सांसद छन् । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा पर्छ । राप्रपाको साथ पाउँदासम्म एमालेतर्फ ४६ सांसद हुन्छन् ।

कोशीमा कांग्रेसका २९ सांसद छन् । सभामुखबाहेक माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सत्ता गठबन्धनसँग पनि ४६ नै सांसद छ । विश्वासको मत लिँदा मत बराबर हुँदा सभामुखले मत हाल्नसक्ने प्रावधानअनुरूप कोशीमा गठबन्धन सरकार बन्ने देखिन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ०७:२४