नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार शपथ ग्रहण गर्दैछन्।
यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा उपनिर्वाचनमा दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका हुन्।
दुवै जनाको शपथ आज बिहान ठिक साढे ११ बजे सिंहदरबारमा हुन लागेको हो।
रास्वपाका सभापतिसमेत रहेका लामिछाने चितवन- २ बाट निर्वाचित भएका हुन् भने वाग्ले तनहुँ- १ बाट निर्वाचित भएका हुन्।
चितवन- २ मा गएको मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा भारी मतले निर्वाचित भएका रवि नागरिकता प्रकरणमा परेपछि उनको सांसद पद खारेज भएकाे थियाे। उक्त क्षेत्र रिक्त रहेकाले उपनिर्वाचन गरिएकाे हाे।
यसैगरी, तनहुँ- १ मा निर्वाचित भएका नेपाली कांग्रेसका रामचन्द्र पाैडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन गरिएकाे हाे।
सत्यपाटी संवाददाता । काठमाडौँ