सूचनाको शक्ति - The Power Of Information

        

एसएसपी बढुवामा एक नम्बरको विवाद !

वैशाख ६ मा गृह मन्त्रालयले नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै प्रहरीमा १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त छ । तर, गृह मन्त्रालयको बढुवा समितिले सिफारिस सूची प्रकाशन गर्न सकेको छैन ।

डिआइजी बढुवाको निर्णय भएपछि एसएसपी राजेन्द्र सिंह खड्काले वैशाख १० मा अवकाश पाएका छन् । उमेर हदका कारण प्रहरी वरिष्ठ उपरीक्षक चक्र बहादुर सिंह पनि शुक्रबारबाट अवकाशमा जाँदै छन् । बढुवा समितिले १८ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गर्न सक्छ । तर, कसलाई १ नम्बरमा बढुवा गर्ने भन्ने विवादका कारण बढुवा हुन नसकेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

२०७५ जेठ २९ मा एसपीमा बढुवा भएका अधिकृतहरू बिच एसएसपीमा बढुवा हुने प्रतिस्पर्धा छ । १ नम्बरमा बढुवा हुन प्रतिस्पर्धा भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । भूपेन्द्रबहादुर खत्री बढुवामा १ नम्बरमा आउन लागिपरेका छन् । उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खड्काले उनलाई एक नम्बरमा बढुवा गर्न दबाब दिएका छन् ।

एक नम्बरमा बढुवा हुने प्रतिस्पर्धामा विश्व अधिकारी र ओमप्रसाद अधिकारी छन् । भूपेन्द्र खत्री मेरिट लिस्टको १२ नम्बरमा छन् । विश्व अधिकारी मेरिट लिस्टको दुई नम्बर र चार नम्बरमा ओम अधिकारी छन् । अहिले बढुवा हुने मध्येबाट एक जना प्रहरी महानिरीक्षकको दाबेदार हुन्छन् । एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् ।

प्रहरी महानिरीक्षक सदस्य र मानव श्रोत विकाश विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन्छन् । एसएसपी बढुवाको मेरिट लिस्टमा सवैभन्दा माथि विमल बस्नेत छन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका बस्नेत २०७४ मा प्रहरी उपरीक्षक भएका हुन् । बढुवाको प्रतिस्पर्धामा सानुराम भट्टराई, विश्वमणि पोखरेल, शेखर खनाल, अवि नारायण काफ्ले र सोमेन्द्रसिंह राठौर अगाडि छन् ।

२०७५ जेठमै प्रहरी उपरीक्षक भएका मुकुन्द मरासिनी, कृष्ण बहादुर पल्लीमगर, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि पौडेल, बेलबहादुर पाण्डे, दीपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभुषण तिम्सीना, प्रविण पोखरेल, प्रज्वल महर्जन र वसन्त रजौरे बढुवाको लाइनमा छन् । २०७५ फागुन ७ मा एसपी भएका अधिकृतहरू पनि बढुवा हुने दौडमा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १५:०८