सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा पोखरी, गर्मी मौसममा वन्यजन्तुलाई राहत

बाँके राष्ट्रिय निकुञ्जको गिद्देनीचौरमा वन्यजन्तुको आहारका लागि निर्माण गरिएको घाँसे मैदानसँगै रहेको पानी पोखरी ।

बाँके राष्ट्रिय निकुञ्जमा गर्मीको मौसममा खहरे खोलाहरू सुक्ने गरेकाले वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेको छ ।

गर्मीमा निकुञ्जभित्र आवश्यकभन्दा निकै कम पानी हुने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन सोलार बोरिङसहित पोखरीहरू निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।

उनले निकुञ्ज क्षेत्रभित्र रहेका ४५ वटा खहरे खोला गर्मीको बेला सुक्ने भएकाले पानीका लागि वन्यजन्तु यताउता भौँतारिने गरेको देखेर १० वटा सोलारजडित पोखरी निर्माण गरिएको बताए ।

घाम लागेको समयमा सोलारबाट निरन्तर पोखरीमा पानी जम्मा हुने र जति बेला पनि वन्यजन्तुले पिउन सक्ने गरी पोखरीहरू निर्माण गरिएको प्रमुख संरक्षण अधिकृत शाहले बताए । पानीलाई क्रमिक र दिगो रूपमा व्यवस्थापन गर्दै लैजाने भनाइ पनि उनको छ ।

निकुञ्जले वन्यजन्तुको सहजताका लागि पोखरीसँगै घाँसेमैदानसमेत निर्माण गरेको छ । निकुञ्जको भूगोल अनुसार साढे चार सयवटा सोलार पोखरी र घाँसेमैदान आवश्यक छ । हाल घाँसेमैदान २० वटा छन् भने सोलार पोखरी १० वटा मात्र छन् ।

एउटा सोलार पोखरी निर्माण गर्न १० लाख रुपैयाँ लाग्ने जनाइएको छ । जैविक विविधता संरक्षण, बाघ र बाघको आहारा प्रजाति संक्षरणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि आहारा र पानी अभाव हुँदै गएको छ ।

मध्यवर्ती तथा चुरे क्षेत्रमा रहेका प्राकृतिक स्रोतको उचित नियमन एवं व्यवस्थापन हुन नसक्दा वन्यजन्तुका लागि आहारा र पानी अभाव हुन थालेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अहिले अवैध चोरी सिकार, वन्यजन्तु–मानव द्वन्द्व, जलवायु परिवर्तन, पर्यटक अभाव लगायतका समस्या निकुञ्जले भोगिरहेको छ ।

निकुञ्जमा ३४ स्तनधारी, ३०० पन्छी, २४ घस्रिने प्रजातिका र नौ प्रजातिका उभयचरसँगै माछा प्रजाति ५५ भन्दा बढी छन् । निकुञ्जमा संरक्षित स्तनधारी वन्यजन्तु सालक, बाघ, जङ्गली हात्तीलगायत पनि उल्लेख्य छन् ।

संरक्षित पन्छीहरू कालो गरुड, राजधनेश, संरक्षित घस्रिने वन्यजन्तुमा अजिङ्गर, सुन गोही लगायत रहेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा पाटेबाघ छन् । यो निकुञ्ज ५५० वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १२:३२