सूचनाको शक्ति - The Power Of Information

        

मिटरब्याजी उर्वशी कसरी पुगिन् सिआइबीको हिरासतमा ?

कोरियाबाट श्रीमानले पैसा कमाएर पठाउने, श्रीमती काठमाडौंमा मिटरब्याजमा लगाउने । एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ । ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने ।

सुरुमै चेक लिएर आफुखुशी पैसा भर्ने त्यसअनुसार नदिए प्रहरीमा गएर चेक बाउन्समा फसाउने भन्दै धम्काउने । यस्तो असुली धन्दामा सक्रिय एक महिला यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा छिन् ।

काठमाडौंको चाबहिलमा स्पोर्टस् हाउस नामक खेलकुद सामग्रीका पसलसमेत चलाउँदै आएकी शंखरापुर घर भएकी ३८ वर्षीय उर्वशी भण्डारीलाई सिआइबीले मिटरब्याज सम्बन्धी कसुरमा पक्राउ गरेको हो । उनीविरुद्ध आठ जनाले सिआइबीमा उजुरी दिएका छन् ।

मिटरब्याज सम्बन्धी प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुरमा कारबाही अघि बढाएको छ । मिटरब्याजको धन्दामा उनका साझेदार रहेका चाबहिलका दिपसागर श्रेष्ठसमेत पक्राउ परेका छन् ।

उनीहरूबाट धेरै जना पीडित भएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरूले एक करोड ६० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । तराईका मिटरब्याज पीडितहरू न्यायका लागि तीन सातादेखि काठमाडौंमा संघर्ष गरिरहेका बेला काठमाडौंभित्रै चलिरहेको मिटरब्याजको एउटा सानो उदारण मात्र हो यो ।

उपत्यकाभित्रै पनि मिटरब्याजको जालो डरलाग्दो छ । त्यस्ता मिटरब्याजीहरूको पहुँच उच्च तहमा भएकाले यहाँका पीडितले उजुरी र संघर्ष गर्न सकेका छैनन् । सिआइबीले हालै आँट गरेर एउटा केस दर्ता गरेको छ । काठमाडौंमा कतिपय ठूला व्यवसायी नै मिटरब्याजमा ऋण लिन बाध्य छन् ।

व्यवसायिक कारोबारका लागि ऋण चाहिने तर, बैंकिङ प्रोसेस लामो हुने र पहुँचका आधारमा मात्र दिने भएकाले पनि मिटरब्याजको समस्या बढेको छ । कतिपय मिटरब्याजीहरुसँग प्रहरीकै दोस्ती छ । प्रहरीकै पैसा मिटरब्याजीले बजारमा लगाउने गरेका छन् ।

मिटरब्याजी र प्रहरीको कनेक्सन नरहने हो मात्र भने पनि यो समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ । विगतमा कतिपय प्रहरी अधिकारी त मिटरब्याजको झमेलामा परिसकेका छन् । कतिपय अहिले पनि पैसा उठाउन प्रहरीको दुरुपयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०७:३९