सूचनाको शक्ति - The Power Of Information

        

दाङमा दुई टन मह बिक्री भएन, थन्काएर राख्नुपर्ने बाध्यता

दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको दुई टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गरेका छन् टन मह मध्ये साढे दुई टन मात्रै बिक्री गरेका छन् । उनले भने, ‘साढे तीन टन मह थन्काएर राखेको छु ।’

उनीहरु त उदाहरण मात्रै हो । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । ‘बिना भन्सार भारतबाट मह आउँछ,’ किसान शर्माले भने, ‘भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन ।’

विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ ।

‘यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो,’ उनले भने, ‘तर, अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ ।’ बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ, तर, त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् ।

तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किक्ने गरेको किसानको गुनासो छ । जिल्लामा हाल ५०० हाराहारीमा मौरी पालक किसान छन् । किसानको सङ्ख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताए । दाङमा मात्रै करिब २०० टनभन्दा बढी मह बिक्री नभएको उनले बताए ।

उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘जडीबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन,’ उनले भने, ‘भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नुहुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ ।’

मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् । जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे । मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताए । किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ । यस वर्ष जिल्लामा करिब ३०० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब ४५० टन मह उत्पादन भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०७:३१