सूचनाको शक्ति - The Power Of Information

        

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

छब्बीस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मंगलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइएको छ ।

जिल्ला अस्पताल दार्चुलाका चिकित्सक सोमराज अवस्थीका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक अस्पतालको आइसियुमा राखिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:१०