साझा यातायातका ३७ विद्युतीय बस चार महिनादेखि त्यत्तिकै थन्किएका छन् । नयाँ विद्युतीय बस चार्जिङ स्टेसनको अभावमा सेवाविहीन बनेका हुन् । खरिद गरेका ४० वटा बसमध्ये तीन वटा करिब आठ महिनादेखि सञ्चालनमा रहे पनि बाँकी यत्तिकै राखिएको छ । अहिले साझा यातायातले आफ्नै प्राङ्गणमा चार्जर राखेर तीन वटा बस सञ्चालन गरिरहेको छ ।
साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले सबै बस चलाउन चार्जिङ डिपो नै आवश्यक पर्ने बताए । ‘साझा यातायातले ल्याएका सबै विद्युतीय बस परीक्षण सफल भएको छ, गुड्न कुनै समस्या छैन,’ दीक्षितले भने, ‘धेरै बस हुँदा चार्जिङ पोइन्ट होइन, चार्जिङ डिपो आवश्यक पर्छ ।’ सरकारले बिजुली बस ३०० वटा ल्याउने भनेर मात्रै नहुने बताउँदै उनले चार्जिङको लागि आवश्यक डिपो तयार गर्नुपर्ने बताए ।
उनका अनुसार साझा यातायातको आफ्नो जग्गा डिजेल इन्जिनका बसले भरिएको छ । विद्युतीय बस चार्जिङ गर्नको लागि पर्याप्त जग्गा आवश्यक पर्छ । ‘चार्जर राख्ने ठाउँमात्रै भएर हुँदैन । ठूला बस ५–६ घण्टा चार्ज गर्न राख्ने ठाउँ पनि हुनुपर्छ,’ साझा यतायात सहकारीका अध्यक्ष दीक्षितले थपे, ‘पेट्रोल स्टेसनजस्तो एकैछिनमा चार्ज हुँदैन । धेरै समय लाग्ने हुँदा चार्जिङ डिपो नै चाहिन्छ ।’
साझा यातायातले विद्युतीय बस चार्जिङ डिपोका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बारम्बार माग गरे पनि पाउनसकेको छैन । प्रधानमन्त्री कार्यालयअन्तर्गत एउटा समिति बनेर खाली जग्गाबारे अध्ययन भइसकेको छ । समितिले विभिन्न मन्त्रालय मातहत जग्गा पत्ता लगाएको छ । तर खाली रहेका जग्गा कसरी साझालाई दिने भन्ने विषय स्पष्ट छैन ।
‘विभिन्न मन्त्रालयलाई लिजमा वा स्वामित्व हस्तान्तरण नहुने गरी साझा यातायातलाई उपलब्ध गराइदिनु भन्ने कुनै निकाय भएन,’ दीक्षितको गुनासो छ, ‘गुर्जुधारा, खुमलटार, बानेश्वर (ट्रलीबस स्टेसन), भक्तपुरको सल्लाघारी लगायतका ठाउँमा जग्गा खाली नै छन् ।’ ३७ वटा विद्युतीय बस आएको चार महिना भइसकेको छ । साझाले ती बसको प्राविधिक चेकजाँच गराएको छ । जसअनुसार एक पटकको फुल चार्जमा कम्तीमा यी बस २०० किलोमिटर चल्ने देखिएको छ ।
तर अझै सेवा दिने गरी चल्न भने सकेको छैन । यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारी भने सरकारले साझा यातायातलाई पुलपुल्याएर राखेको बताउँछन् । उनले भने, ‘त्यत्रो बस ल्याउँदा कसरी चलाउने भन्ने योजना किन नबनाएको ? बस आइसकेपछि मात्र जग्गा भएन भनेर हुन्छ ?’ उनले साझाले पुल्चोकको आफ्नै जग्गा भाडामा लगाएर पार्किङ र चार्जिङ गर्ने ठाउँ भएन भन्नु उपयुक्त नभएको बताए ।

वैशाखभित्र सबै बस चलाउने साझाको दाबी
यसैबीच, साझा यातायातले नेपाल भित्रिएका बस स्थानीय तहसँग मिलेर भए पनि बस चलाउने जनाएको छ । साझा यातायातका ७१ वटा बस छन् । त्यसमा ३ वटा विद्युतीय बस थपिएका छन् । आठ महिनादेखि तीन वटा विद्युतीय बस सञ्चालनमा छन् । तर थप ३७ वटा बस राख्ने ठाउँ छैन ।
‘बस सडकमा आउन तयार छन् । सरकारले जग्गा उपलब्ध गराए पनि नगराए पनि वैशाखभरिमा गुडाउँछौँ,’ उनले भने, ‘बससँगै चार्जर ल्याइएको छ । चार्जर राख्ने डिपो मात्रै नभएको हो ।’ पुल्चोकमै (यूएन गेटनजिकै) सहकारी विकास बोर्डको जग्गा खाली छ । साझा यातायातले बोर्डसँग साझा यातायातका बस राख्न जग्गा माग गरेको थियो । तर बोर्डले साझालाई अस्थायी रुपमा पनि पार्किङ गर्ने जग्गा दिएन ।
‘अस्थायी रुपमा राति बस पार्किङ गर्नको लागि जग्गा देऊ भनेर माग गरेका थियौँ । साझा यातायातले पत्राचार गर्दा दिँदैनौँ भन्यो । अहिले यूएनका गाडीलाई भाडा लिएर दिएको छ,’ उनले भने, ‘साझा सहकारी कुनै व्यक्तिको होइन सार्वजनिक यातायातको संस्था हो ।’ सहकारी विकास बोर्डले एउटा सहकारीले पार्किङको लागि जग्गा माग गर्दा नदिएको साझा यातायातको गुनासो छ ।
‘खुल्ला रहेको जग्गा आजको भोलि पनि दिन सक्छन् । डिजेलका बस बाहिर पार्किङ गर्छौँ । विद्युतीय बस साझाकै जग्गामा चार्जर राखेर काम गर्छौँ,’ दीक्षितले भने । साझाले डिपो कुरेर बसेको छ । डिपो नपाए थोरै थोरै गरेर बस निकाल्ने उसको तयारी छ । ‘एकैपटक सकिँदैन । जहाँ–जहाँ जग्गा पाइन्छ । त्यहीँ पार्किङ वा चार्जिङ राखेर चलाउँछौँ,’ उनले भने, ‘सबै बस एकैपटक चलाउन पोलिटिकल विल (राजनीतिक चाहना) आवश्यक पर्छ । मिलाउनलाई कोही पनि अग्रसर भएन ।’
तत्कालै साझाले चलाउन सक्ने सहकारी विकास बोर्डको जग्गा हो । बोर्डले रातिको समयमा बस पार्किङ गर्न दिनेबित्तिकै समस्या समाधान हुन्छ । दिउँसो यूएनका गाडी पार्किङ भए पनि राति साझाका गाडी चार्ज गर्न सकिने जनाइएको छ । साझा यातायातको केही जग्गा १० वर्षको भाडामा दिइएको थियो । उक्त ठाउँ खाली गर्दा १० वटासम्म बस पार्किङ गर्न सकिन्छ । हाल केही बस पुल्चोकमा छन् भने बाँकी बनेपामा छन् ।
ट्रान्सफर्मर र लाइन तान्न प्राधिकरण तयार
साझा यातायातले चार्जिङ डिपो राख्ने ठाउँ निश्चित भएपछि नेपाल विद्युत् प्राधिकरणले सघाउने जनाएको छ । ‘विद्युत प्राधिकरणले साझा यातायातलाई सघाउनको लागि ठाउँ पाउनेबित्तिकै चार्जिङ स्टेसनको लागि चाहिने चार्जरबाहेकका ट्रान्सफर्मर, लाइन तान्ने विषयमा प्राधिकरण तयारी भएरै बसेको छ,’ अध्यक्ष दीक्षितले भने ।
उनका अनुसार जग्गा नपाउँदा प्राधिकरणले समेत आफ्नो काम गर्न पाएको छैन । साझा यातायातले पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी सीएचटीसी कम्पनीका साढे आठ मिटर लम्बाइका ४० वटा बस खरिद गरेको हो । चीनको नानजिङ्ग सहरबाट ती बस ल्याइएका हुन् ।
नेपाल सरकारले बिजुली बस खरिद गर्न साझा यातायात सहकारीमा २०७६ असारमा ३ अर्ब लगानी गरेको थियो । तर २८ दिन नपुग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सबै कार्य स्थगित गर्नु भन्ने पत्र आएपछि पूरै प्रक्रिया रोकिएको थियो । १६ महिनापछि सरकारले साझा यातायातलाई नै फेरि २०७७ फागुनमा मन्त्रालयमार्फत पत्र पठाएको थियो । साझाले जिम्मेवारी पाएपछि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी बस खरिद गरिसकेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं