नेपाल प्रहरीका १३ एसएसपी बढुवा भएको एक सातासम्म पनि जिम्मेवारीविहीन भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वैशाख ६ गते १३ एसएसपीलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेका थिए ।
तर बढुवा गरेको एक सातासम्म पनि गृहमन्त्री श्रेष्ठले पदस्थापन गर्न नसकेका हुन् । डीआइजीले नेतृत्व गर्ने अधिकांश कार्यालय एसएसपीका भरमा छन् । तर चाँडै पदस्थापन हुने गृहसचिव विनोदप्रकाश सिंह बताउँछन् ।
सचिव सिंहले भने, ‘अहिलेसम्म फाइल मकहाँ आइसकेको छैन । तर आज भोलितिरै होला नि !’ प्रदेशमा पनि जिम्मेवारी दिन सकेको छैन । कोशी प्रदेशमा एसएसपी हुँदै राजेशनाथ बास्तोलाले जिम्मेवारी पाएका थिए भने सुदूरपश्चिममा भरतबहादुर बोहराले जिम्मेवारी पाएका थिए ।
उनीहरूको पदस्थापन हुन सकेको छैन । तर डीआइजी भइसकेपछि पनि प्रदेश प्रहरी प्रमुखका रुपमा काम गरिरहेका छन् । मधेश प्रदेश एसएसपीको भरमा छन् । डीआइजी सरुवा गर्ने तयारी भए पनि गृहमन्त्री श्रेष्ठले अन्तिम समयमा रोकेका थिए ।
जिम्मेवारी नपाउने डीआइजीहरूमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, रबिन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल छन् । उनीहरूले वैशाख ७ गते दर्ज्यानी चिन्ह पनि लगाइसकेका छन् । तर जिम्मेवारी भने अझै तोकिएको छैन ।
सत्यपाटी संवाददाता । काठमाडौं