सूचनाको शक्ति - The Power Of Information

        

एनआइसी एसिया बैंकको लुट, ‘सम्पत्ति हडप्दै, आतंक फैलाउँदै’

दिनहुँ पत्रपत्रिकामा ऋणीलाई ऋण तिर्ने र घर जग्गाको लिलामी गर्ने सूचना निकाल्ने बैंक एनआइसी एसिया हो । जुन बैंकले स्थापनाकालदेखि सयौं ऋणीलाई उठिबास गराएको छ । सुरुमा राम्रो ठाउँको घरजग्गालाई व्यवसाय गर्न ऋण दिने, समयमा ब्याज तिर्न नसके साँवामाथि थप ऋण थोपर्ने र व्यवसाय चौपट भएको मौका पारेर उक्त सम्पत्ति हडप्ने यस बैंकको नियत नै हो ।

यस्तै एउटा घटना लुम्बिनीमा घटेको छ । लुम्बिनीस्थित एउटा होटल हडप्न खोज्दा त्यस क्षेत्रका सम्पूर्ण पर्यटन व्यवसायीहरुले एनआइसी एसिया बैंकको शाखा घेरेका छन् । बैंकको कारोबार ठप्प पारेका छन् । यस घटनाले पर्यटन व्यवसायीहरुको उक्त बैंकप्रति नकारात्मक धारणा बनेको छ । एउटा बैंकले यति ठूलो ज्यादति गर्दा २० किलोमिटर टाढा भैहरवामा रहेको नेपाल राष्ट्र बैंक भने मौन छ ।

प्राप्त समाचारअनुसार एनआइसी एसिया बैंकबाट ऋण लिएका होटल आकाश इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक उमाशंकर मिश्रले बैंकबाट आफू पीडित भएको भन्दै अहिले हारगुहार गरिरहेका छन् । मिश्र र बैंकका अनुसार असोज मसान्तसम्म बैंकको सबै ब्याज चुक्ता छ । चैत्र मसान्तभित्र बाँकी ६ महिनाको ब्याज बुझाउनुपर्ने थियो । होटल राम्रोसँग नचलेका कारण मिश्रलाई ब्याज तिर्न कठिनाई भइरहेको थियो ।

बैंकमा गएर उनले एक महिनाको समय दिन माग गरे । बैंकले तत्काल १० लाख रुपैयाँ जम्मा गरेर ब्याज तिर्ने समयावधि बढाउने जनायो । त्यसपछि उनले बैंकमा १० लाख रुपैयाँ जम्मा गरे । केहीदिनमै पुनः बैंकले मिश्रलाई ९ लाख रुपैयाँ जम्मा गर्न भन्यो । उनले १५ दिनको समय माग गरे ।

‘बैंकको आग्रहअनुसार १० लाख तिरेपछि फेरी ९ लाख तिर्न तयार भएँ र रकम जुटाउनतर्फ लागेँ । तर, ९ लाख जुटाई नसक्दै पुनः बैंकले ३० लाख जम्मा गर्न भन्यो,’ उनले भने, ‘कहिले कति रकम कहिले कति रकम भन्दै ममाथि निरन्तर बैंकका कर्मचारी टर्चर गर्न थाले । तर, पनि थप एक महिना समय मागेर मैले पैसा जम्मा गर्ने प्रतिबद्धता जनाएँ ।’

यही बीचमा बैंकले चैत्र २९ गते मिश्रको होटल आफ्नो नाममा गराएको छ । ‘ऋण तिर्न छ, मैले पनि तिर्छु भनेकै छु, केही थप समय मात्रै मागेको हुँ,’ मिश्रले भने, ‘मालपोत कार्यालयका कर्मचारी घूस खुवाएर बैंकले एकाएक मेरो करोडौंको होटल आफ्नो नाममा बनायो । यो म माथिको अन्याय हो । सरकारले न्याय दिनुपर्छ । बैंकलाई कारबाही गर्नुपर्छ ।’

मिश्रको दुई कठ्ठा ६ धुरमा बनेको साढे चार तल्लाको होटल छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा रहेको उक्त होटल आकर्षक छ । स्थानीय घरजग्गा व्यापारीका अनुसार अहिलेकै मन्दीको अवस्थामा पनि होटल विक्री गर्दा न्युनतम १२ करोड पर्छ । तर, १२ करोड पर्ने होटल बैंकले ४ करोड ८३ लाखमा मूल्य कायम गरेर आफ्नो नाममा बनाएको छ ।

‘सामान्य बजार भाउलाई पनि ख्याल नगरी होटल बैंकले आफ्नो नाममा बनायो, यो भन्दा ठूलो पीडा एउटा व्यवसायीलाई के हुनसक्छ,’ मिश्रले भने, ‘यो बैंकको ज्यादती हो, राष्ट्र बैंकले तत्काल कारबाही गर्नुपर्छ ।’ पाँच वर्षअघि मिश्रले बैंकबाट ३ करोड ७० लाख रुपैयाँ ऋण लिएका थिए । अहिले उक्त ऋण बढाएर ५ करोड ८५ लाख पुगेको छ ।

‘मेरो यही होटल राखेर बैंकले पौने ६ करोड ऋण दिएको छ, तर होटल आफ्नो नाममा गराउँदा पौने पाँच करोडमा गरायो, यसले पनि पुष्टि हुन्छ, बैंकको कति बदनियत छ भन्ने,’ उनले गुनासो गर्दै भने । मिश्रका अनुसार सुरुमै बैंकले मूल्यांकन गर्दा ५ करोड ८५ लाख गरेको थियो । अहिले सुरुको मूल्यांकन अनुसार पनि दररेट कायम गरेन ।

होटल संचालकका अनुसार नियमानुसार लिलामी निकाल्नुपर्नेमा त्यो पनि गरेको छैन । ‘लिलामी निकालेको पनि मलाई थाहा छैन,’ मिश्रले भने, ‘खोइ कसरी आफ्नो नाममा गरायो ? मालपोतले कसरी मान्यो ? केही बुझ्न सकेको छैन ।’ भूकम्प, नाकाबन्दी, तराई मधेश आन्दोलन, कोरोना महामारी जस्ता कारणले आर्थिक क्षेत्रमा मन्दी आइरहेको छ । जसको कारण होटलहरु चल्न सकेका छैनन् ।

यस्तो बेला बैंकले मिश्रमा होटलमाथि मौकामा चौका हानेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् । ‘यो बैंकको ज्यादती हो, यस्तो अवस्थामा ब्यवसायीलाई सहजीकरण गर्नुको सट्टा तनाव दिने, सम्पत्ति हडप्ने गर्नु बैंक आतंक हो,’ उनले भने, ‘यस्ता बैंकका संचालक र प्रबन्धकलाई पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

राष्ट्र बैंकको नियमअनुसार कुनै ऋणीले ब्याज तिरिरहेको बेला उसको सम्पत्ति लिलामी गर्ने तथा बैंकले आफ्नो नाममा बनाउन पाउँदैन । ‘मैले १० लाख रुपैयाँ नहालेको भए, बैंकले आफ्नो नाममा होटल बनाउँदा कानूनी जटिलता कम हुनसक्थ्यो, तर ब्याज तिर्दातिर्दै होटल आफ्नो नाममा बनाउनु गैरकानूनी हो,’ मिश्रले भने । मिश्रको होटल बैंकले आफ्नो नाममा बनाउँदा उनलाई थाहै दिएको छैन ।

अर्कातर्फ चैत्रको तेस्रो साता बैंकका कर्मचारीले फोन गरेर होटल बेच्न दवाव दिएका थिए । कर्मचारीले आफूहरुले होटल किन्ने ग्राहक खोजेको भन्दै मिश्रलाई होटल बेच्न मानसिक दवाव दिएको उनी बताउँछन् । बजार भाउभन्दा निकै कममा र ऋण तिर्दातिर्दै होटल आफ्नो नाममा गराउनु बैंकको बद्मासी देखिन्छ । कर्मचारीले बद्मासी गरेकै कारण अहिले बैंकले क्षेत्रीय कलस्टर प्रमुख, लुम्बिनी शाखा प्रबन्धक, कर्मचारी सबैलाई सरुवा गरेर नयाँ कर्मचारी पठाएको छ ।

यसले पनि बैंकले बद्मासी गरेको पुष्टि हुने संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । बैंकले थाहा नदिई मिश्रको होटल आफ्नो नाममा गराए पछि बैशाख ३ गते होटल व्यवसायी, स्थानीय र निजी क्षेत्रका अगुवाहरु लुम्बिनी पुगेर बैंकमा केहीबेर तालाबन्दी समेत गरेका थिए । त्यसपछि बैंक तत्कालीन कलस्टर प्रमुख मिलन कोइराला, निजी क्षेत्रका प्रतिनिधि, पीडित मिश्र, प्रहरी बसेर लुम्बिनी छलफल भएको थियो ।

उक्त छलफलमा बैंकका प्रतिनिधिले केही त्रुटी भएको भन्दै आफूहरुले मिश्रलाई सहयोग गर्ने जनाएका थिए । तर, अहिलेसम्म कस्तो किसिमको सहयोग भन्ने बैंकले खुलाएको छैन । ‘मैले पैसा तिर्छु भनेकै छु, तिरिरहेको पनि छु तर, मलाई नै थाहा नदिई गैरकानुनीरुपमा बैंकले म माथि गर्यो,’ मिश्रले भने, ‘होइन भने सबै कर्मचारी सरुवा किन गर्नुपर्यो ? बैंकले आफ्नो गल्ती लुकाउन यो सब गरिरहेको हो ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी लगायतका कारण यस क्षेत्रमा व्यवसायीले लगानी गरिरहेका छन् । तर, विमानस्थल पूर्ण क्षमतामा चलेको छैन । लुम्बिनी कोरोना पछि उल्लेख्य पर्यटक आएका छैनन् । यस्तो बेला व्यवसाय कम चलेको छ । यही मौकामा एनआईसी एशिया बैंकले व्यवसायीमाथि अन्याय गरिरहेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०९:५२