सूचनाको शक्ति - The Power Of Information

        

ईङवा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यका १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ६ लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि एक लाख २० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावितलाई छुट्याएकोमा बाँकी रहेको र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएकोमा बाँकी रहेको सेयर थप गरी सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओमा वैशाख आजदेखि १७ गतेसम्स आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग अनुसार आवेदन नपरे वैशाख २७ गतेसम्म आवेदन दिने समय थप गरिने बताइएको छ ।

कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । तर, पछिल्लो समय आईपीओ खरिदमा निष्कासन कित्ताभन्दा बढी आवेदन पर्ने गरेको हुँदा १० कित्ताका लागि नै आवेदन दिँदा उचित हुने देखिन्छ ।

आईपीओ निष्कासनका लागि कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमा वित्तीय दायित्त्व बहन गर्ने क्षमतामा मध्यम जोखिम भएको ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजङुको ईङवा खोलाबाट ९.७ मेगावात विद्युत उत्पादन गर्न आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको परीक्षण उत्पादन २०८० जेठ १ गते गर्ने तयारी कम्पनीको छ । भने व्यावसायिक विद्युत उत्पादन जेठ १६ गतेदेखि गर्ने बताइएको छ ।

आयोजनाको हालसम्मको अनुमानित लागत एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यो आयोजना गत पुस मसान्तसम्म एक करोड १५ लाख २० हजार सञ्चित नोक्सानीमा रहेको छ । प्रतिसेयर आम्दानी पनि माइनसमा रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ २९ पैसा रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०८:५१