सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन

बारा–२ मा उपेन्द्र यादव निर्वाचित

उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा गठबन्धनका साझा उमेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।

भर्खरै सार्वजनिक मत परिणाम अनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको छ ।

त्यस्तै, तेस्रो बनेका नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे । आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो ।

गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । मंसिर ४ मा सप्तरी क्षेत्र नं.२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजित भएका यादव निर्वाचित भएका हुन् ।

पाँच महिनाअघि पराजित यादवको संसद् छिर्ने चाहनाले रामसहायलाई उपराष्ट्रपति बनाएका थिए । अहिले निर्वाचित भएसँगै उनको संसद् छिर्ने चाहना पूरा भएको छ । २०६३–०६४ पछि मधेस राजनीतिमा उदाएका यादव ०६४, ०७० र ०७४ को चुनावबाट लगातार संसद् छिरे ।

उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधानसभामा मोरङ–५ बाट पराजित भएका उनी सुनसरी–५ बाट निर्वाचित भए । ०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:२५