सूचनाको शक्ति - The Power Of Information

        

उडिरहेको विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

सोमबार साँझ काठमाडौंबाट दुवईका लागि उडेको विमानमा उड्नेबित्तिकै आगो देखियो । फ्लाई दुवईको एफजेड ५७६ विमान कोटेश्वरको आकाशबाट इमाडोलतिर पुग्दै गर्दा विमानबाट ठूल्ठूलो आवाज तीन–चार पटकसम्म आएको थियो ।

राति ९ बजेर २३ मिनेटमा दुवईका लागि उडेको विमानमा आगोको लप्कासहित ठूलो आवाज आएपछि कोटेश्वर, जडीबुटी, टीकाथली र इमाडोल क्षेत्रका बासिन्दा आत्तिँदै बाहिर निस्किएका थिए । सुरुमा विमानमा चरो ठोक्किएको भनिए पनि तर त्यो पुष्टि हुन सकेन ।

भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेशमा रोक लगाएको छ । तर अमेरिकामा पनि आइतबार बिहान समान प्रकृतिको घटना घटेको थियो ।

स्थानीय समयअनुसार आइतबार बिहान अमेरिकी एयरलाइन्स फोनिक्सका लागि उडान भर्दै थियो । चरो ठोक्किएर विमानको इन्जिनमा आगो लागेपछि उक्त जहाजले फर्किएर कोलम्बसस्थित जोन गेलन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार उक्त जहाज आइतबार बिहान सुरक्षित रूपमा अवतरण भएको संघीय उड्डयन प्रशासनले जनाएको विज्ञप्तिमार्फत जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त विमानमा चालक दलबाहेक १७३ यात्रु रहेको जनाएका छन् ।

सीबीएस न्यूजले इन्जिनमा आगो लागेपछि विमान करिब ३० मिनेट आकाशमा होल्ड भएको जनाएको छ । उक्त घटनाबारे उड्ड्यन प्रशासनले अनुसन्धान गरिरहेको छ । जोन गेलन अन्तर्राष्ट्रिय विमानस्थलले ट्विटमार्फत विमानको इन्जिनमा आगो लागेको र सकुशल अवतरणपश्चात विमानस्थल पुनःसञ्चालनमा आएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:०८